रासस समाचार प्रभावः सुँगुर नियन्त्रणमा आउँदै


राजविराज नगरपालिकाले छाडा सुँगुर नियन्त्रण गर्ने अभियान सुरु गरेको छ ।

नगरवासीको व्यापक गुनासो र राससबाट गत वैशाख २५ गते ‘छाडा सुँगुरको आतंक’सम्बन्धी समाचार आएपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र युथ नेपाल सप्तरीलगायत विभिन्न सरोकार भएका निकायबीचको छलफलपछि नगरपालिकाका निमित्त कार्यकारी अधिकृत उमेरकुमार यादवको लिखित निर्देशनमा कार्यालयका सरसफाइ तथा ज्यालादारी कर्मचारी सुँगुर मार्ने अभियानमा जुटेका छन् ।

सो अभियानअन्तर्गत आजसम्म २५ सुँगुर मारिएका छन् । अभियानको नेतृत्व गरिरहनुभएका सरसफाइ इञ्चार्ज रामकुमार यादवले सुँगुर नियन्त्रणमा नआएसम्म अभियान जारी रहने बताउनुभयो ।
छाडा सुँगुरका कारण नगरमा दुर्गन्ध फैलिँदा विभिन्न रोग र प्रकोपको जोखिम बढिरहेको तथा सर्वसाधारणले घर र करेसाबारीमा ठूलो नोक्सानी बेहोरिरहनुपरेको स्थानीयवासी मुकेश यादवको गुनासो छ । । करिब ६० बिघा क्षेत्रफलमा फैलिएको राजविराज नगरपालिकाभित्र सुँगुरको छाडापनका दुर्गन्ध फैलिने गरेको छ ।

नगरपालिकाले सुँगुर धनी र सुँगुर पालकसँग पनि सुँगुर नियन्त्रणका बारेमा छलफल गरिरहेको छ । सुँगुर नियन्त्रणका लागि नगरपालिकामा काञ्जीहाउससमेत बनाएर १५ दिनसम्म राखिने र कोही सुँगुर लिन नआएमा लिलाम पनि गरिने यादवले राससलाई जानकारी दिनुभयो ।

यादवले अभियान सुरु गरेको चार वर्ष अगाडि सप्तरीका तत्कालीन प्रअिज हरिराज पन्त पनि राजविराजमा देखिएको छाडा सुँगुर नियन्त्रण गर्न स्वयम् सडकमा निस्किनुभएको थियो । विसं २०६९ भदौ २६ गतेदेखि ‘किक एण्ड क्याच’ अभियान नै सुरु भएको थियो । सांसद उमेशकुमार यादवले पनि छाडा सुँगुर नियन्त्रण गर्न पहल गर्नुभएको थियो ।
भारतको जयपुर सहरको नक्सामा आधारित भई बनाइएको पहिलो योजनाबद्ध नगरपालिका राजविराजलाई स्वच्छ सफा र हराभरा बनाउने उद्देश्यले सुरु गरिएको ‘ग्रिन राजविराज, क्लिन राजविराज’ अभियान छाडा सुँगुर तथा पशु चौपायाकै कारण प्रभावित भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?