नवजीवनको मोबाइल बैंकिङ सेवा


नवजीवन सहकारी संस्था लिमिटेडले आजबाट ‘मोबाइल बैंकिङ’ सेवा सुरु गरेको छ । संस्थाले सुरु गरेको ‘नवजीवन एम बैंक’ मोबाइल बैंकिङको सफ्टवेयर गुगल प्लेस्टोरवाट डाउनलोड गरी बैंकिङ सुविधा लिनसकिने संस्थाका महाप्रबबन्धक मोहनराज भट्टले बताउनुभयो ।
सो सेवामार्फत् संस्थाको कार्यालयमा नगएर पनि आफ्नो खातामा रहेको मौज्दात रकमबारे जानकारी लिन सकिने, खाताको विवरण हेर्न सकिने, आफ्नो खाताको रकम अर्को खातामा सार्न सकिने, रकम झिक्दा तथा जम्मा गर्दा मोबाइलमा जानकारी आउने, मोबाइल रिचार्ज, फोन र इन्टरनेटको बिल रकम भुक्तानी गर्न सकिने लगायतका सुविधा प्राप्त हुनेछ ।
नेपाल राष्ट्र बैंँकबाट सीमित बैंकिङ कारोबार गर्ने इजाजत पाएको नवजीवन सहकारी संस्थाले आव २०७३÷७४ मा रु नौ करोड ५९ लाख ६६ हजार मुनाफा कमाएको थियो । सो अवधिमा संस्थाले रु दुई अर्ब १८ करोड ४७ लाख ८५ हजार कर्जा लगानी गरेको थियो । शेयर पुँजी अघिल्लो आवभन्दा रु दुई करोडले बढेको छ ।
संस्थाले साना किसानलाई लक्षित गरी लघुवित्त कार्यक्रम र सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको संस्थाका उपाध्यक्ष डा गोविन्दराज जोशीले जानकारी दिनुभयो । कैलाली र बर्दियामा पाँचवटा शाखा रहेको यो संस्थाका झण्डै १६ हजार शेयर सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?