तराईमा आज रक्षाबन्धन


मिथिला क्षेत्र र तराईका जिल्लामा आज रक्षाबन्धन पर्व उल्लासमय वातावरणमा मनाइँदैछ । खासगरी तराईका मैथिल समुदाय, थारू, राजवंशी, गणगाईलगायत आदिवासीले मिथिला पञ्चाङका आधारमा सम्पूर्ण धार्मिक कार्य र विवाहसमेत गर्दै आइरहेका छन् । सो पञ्चाङका आधारमा बिहान ११ देखि मध्याह्न २ बजेसम्म शुभसाइतमा रक्षाबन्धनका साथै ब्राह्मणबाट रक्षासूत्र बाँध्न पण्डित चन्द्रमोहन झाले सुझाव दिनुभएको छ । सोमबार राति ११ बजेर ७ मिनेटदेखि चन्द्रग्रहण लाग्ने भएकाले निर्धारित समयमा गर्दा कुनै प्रकारको कुप्रभाव नपर्ने उहाँले बताउनुभयो । साउन पूर्णिमाका दिनमा यो पर्व मनाउने गरिएको यस पर्वका अवसरमा दाजुभाइलाई दिदीबहिनीले रक्षाबन्धन बाध्ने गर्छन् । सो अवसरमा दाजुभाइले दिदीबहिनीको रक्षाको वचनका साथै आ–आफ्ना क्षमतानुसार उपहार दिने गर्छन् । यो पर्वको अवसरमा आज बिहानैदेखि विराटनगरको मिठाई पसलमा ग्राहकको चहलपहल बढेको छ । सरकारले आज तराईका जिल्लामा सार्वजनिक विदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?