सात बालकको उद्धार


बालबालिकाको ओसारपसार र बेचबिखन विरुद्धका क्षेत्रमा कार्यरत बाल उद्धार नेपाल नामक सामाजिक संस्थाले सात बालकको उद्धार गरेको छ ।
उक्त संस्थाले नेपाल प्रहरी, जिल्ला बालकल्याण समिति ललितपुरलगायत सरोकार पक्षको सहकार्यमा गत बिहीबार गरेको अनुगमनमा धातुका मूर्ति र कलाकृति बनाउने उद्योगबाट ती बालक उद्धार गरिएका हुन् ।
ललितपुर महानगरपालिकास्थित च्यासल र बालकुमारी क्षेत्रमा धातुका मूर्ति तथा कलाकृति बनाउने उद्योगमा १६ वर्षभन्दा कम उमेरका १०–१२ जना बालक जोखिममा रहेको बाल उद्धार नेपालको प्रतिवेदनमा जनाइएको छ । संस्थाका कार्यकारी निर्देशक जमुना श्रेष्ठका अनुसार अनुगमनका क्रममा जोखिमको अवस्थामा बाल श्रम गरिरहेको पाइएको छ । ती बाल श्रमिकलाई बाल उद्धार नेपालले सञ्चालन गरेको अल्पकालिक स्याहार केन्द्रमा राखिएको छ ।
संस्थाले बालबालिकाको ओसारपसार र बेचबिखनविरुद्ध सचेतना, जोखिममा परेका बालबालिकाको उद्धार र परिवारमा पुनःस्थापनाका साथै बाल गृहसमेत सञ्चालन तथा बालबालिकाको व्यक्तिगत विवरण अभिलेखीकरण, स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्योपचार, मनोसामाजिक परामर्श, आवासीय संरक्षण, प्रहरी र श्रम कार्यालयको समन्वयमा आवश्यकतानुसार कानुनी प्रक्रिया, परिवारको खोजी र पहिचान, पारिवारिक पुनःस्थापनाको सम्भावनासम्बन्धी अध्ययन तथा विश्लेषण, पारिवारिक पुनःस्थापना तथा शिक्षाका लागि सहयोग उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?