नेपाल र क्वान्साइ गाकुइन विश्वविद्यालय भिड्ने


जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आफ्नो दोस्रो मैत्रीपूर्ण खेल भोलि जापानको क्वान्साइ गाकुइन विश्वविद्यालयको टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
नेपालले भोलि नेपाली समय अनुसार दिउँसो १ः१५ बजे गाकुइन विश्वविद्यालयसँग विजय लक्ष्यका साथ प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीले आइतबार भएको मैत्रीपूर्ण खेलमा जापानको गाम्बा ओसकाको तेइस वर्षमुनि (यू–२३) टोलीसँग १–१ गोलको बराबरी खेलेको थियो ।
एएफसी एशियन कप छनोटको तयारीमा रहेको नेपालले जापानमा पाँचवटा मैत्रीपूर्ण खेल खेल्नेछ । एशियन कपअन्तर्गत आगामी भदौ २० गते नेपालमा नै हुने ताजकिस्तानविरुद्व खेल्नुअघि अन्तिम तयारीका लागि नेपाली टोली जापान पुगेको हो ।
एशियन कप छनोटअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा ताजकिस्तानको सामना गर्नेछ । समूह ‘एफ’मा रहेको नेपाल एक अङ्कसहित तेस्रो स्थानमा तथा अङ्कविहीन ताजकिस्तान अङ्क तालिकाको अन्तिम स्थानमा छन् ।
समूह चरणको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग उसकै मैदानमा ४–१ को गोलअन्तरको हार भोगेको थियो ।
त्यस्तै, नेपालमै भएको यमनविरुद्वको दोस्रो खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । समूह एफमा रहेको फिलिपिन्स ६ अङ्कका साथ शीर्षस्थानमा तथा चार अङ्क जोडेको यमन दोस्रो स्थानमा छन् । समूहको शीर्ष दुई टोलीले एएफसी एशियन कपको अन्तिम चरणमा प्रवेश पाउनेछन् ।

युनिभर्सियाडमा अठार खेलाडीको सहभागिता 
चीनको ताइपेईमा आयोजना हुने २९औँ समर युनिभर्सियाड–२०१७ मा नेपाललका १८ सदस्यीय खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
विश्वविद्यालय खेलकुद सङ्घ नेपालद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा आयोजक सङ्घका पदाधिकारीले सहभागी खेलाडी तथा अफिसियललाई सफलताको शुभकामना दिनुभयो ।
युनिभर्सियाडमा सहभागी हुने नेपाली टोलीलाई सङ्घका अध्यक्ष प्रदीप जोशीले नेतृत्व प्रदान गनुर््हुनेछ । नेपालले भारोत्तोलन, ब्याडमिन्टन, फेन्सिङ, एथलेटिक्स, तेक्वान्दो, टेनिस र टेबलटेनिस गरी सात खेलमा प्रतिस्पर्धा गर्ने सङ्घले जनाएको छ ।
तेक्वान्दोतर्फ ४९ केजीमा अस्मिता खड्काले प्रतिस्पर्धा गर्नेछिन् । उनले पुम्सेतर्फ पनि प्रतिस्पर्धा गर्ने टोली प्रशिक्षक नोर्वू लामाले जानकारी दिनुभयो ।
यस्तै, ५७ केजीमा नम्रता तुलाधर, ७३ केजीमाथि ओलम्पियन निशा रावल र पुरुष ६८ केजीमुनि उमेश राजभण्डारीले प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै, फेन्सिङमा सञ्जीव लामा, इन्दिरा पौडेल र मन्दिरा थापाले प्रतिस्पर्धा गर्नेछन् भने एथलेटिक्समा कृष्ण क्षेत्री, भारोत्तोलनमा टीकामाया गुरुङ र मनिषा रानाभाटले प्रतिस्पर्धा गर्नेछन् ।
त्यसैगरी, ब्याडमिन्टनतर्फ दीपक बोहरा, अमिता गिरी र शैलेश दाहाल छन् । टेनिसमा प्रीति बराल र कृपा शर्मा तथा टेबलटेनिसमा करन राई, युशेष चन्द्र राई र भावुक जोशीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?