आचारसंहिता ठीक समयमा लागू भएको छ– प्रमुख निर्वाचन आयुक्त यादव


प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेश नं २ का ८ जिल्लामा असोज २ गते हुने स्थानीय तहको निर्वाचन प्रचारप्रसार अत्यन्तै अनुशासित ढंगबाट भइरहेको बताउनुभएको छ ।
निर्वाचन आयोगले आज सञ्चारकर्मीसँग गरेको अन्तरक्रियामा उहाँले आचारसंहिता प्रभावकारीरुपमा कार्यान्वयन भएकाले नै सरकारले खुकुलो गर्न भनेको उल्लेख गर्नुभयो । सरकार, राजनीतिक दललाई आचारसंहितको पालना गराउन सञ्चार जगत्बाट ठूलो सहयोग भइरहेको छ भन्दै प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन अवधि भनेको १२० दिनको समयसीमा भएकाले आयोगले ठीक समयमै आचारसंहिता घोषणा गरेको स्पष्ट पार्नुभयो ।
निर्वाचनका लागि धेरै जटिलता, चुनौती र कानूनको अभाव भए पनि ती सबै विषयवस्तुलाई व्यवस्थित तुल्याउँदै निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको दृढता व्यक्त गर्नुभयो ।
आयुक्त इला शर्माले निर्वाचन व्यवस्थापन गर्ने सन्दर्भमा परेको समयको चापले गर्दा सञ्चारकर्मीका जिज्ञाशालाई समयमै शान्त तुल्याउन नभ्याइएको विषयलाई अन्यथा रुपमा नलिन सुझाव दिनुभयो ।
आयोगका सहसचिव एवम प्रवक्ता नवराज ढकालले स्थानीय तह तथा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको समग्र वस्तुस्थितिका बारेमा जानकारी दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?