चितवनका मतदाता तीन लाख ५४ हजार


गत स्थानीय निर्वाचनपछि जिल्लामा मतदाताको संख्या बढेको छ । आउँदो मंसिर २१ मा हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा जिल्लाका तीन लाख ५४ हजार ३६ जनाले मतदान गर्न पाउने भएका हुन् ।
स्थानीय तहको निर्वाचन हुँदा जिल्लामा तीन लाख १३ हजार दुईजना मतदाता रहेका थिए । जिल्ला निर्वाचन कार्यालयले पठाएको विवरणलाई निर्वाचन आयोगले अन्तिम रुप दिँदै नामावली पठाएसँगै चितवनको मतदाता विवरणको टुंगो लागेको हो ।
स्थानीय तहको निर्वाचन भन्दा यस निर्वाचनमा ४१ हजार ३४ बढी नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय भरतपुरका प्रमुख हरि ढकालले जानकारी दिनुभयो ।
चितवनमा प्रतिनिधि सभा तर्फ सबैभन्दा बढी क्षेत्र नं ३ मा मतदाता रहेका छन् । यस क्षेत्रमा भरतपुर महानगरपालिकाको वडा नं ६, ८, ९, १३ देखि २८ र माडी नगरपालिका रहेकाले मतदाताको संख्या बढी भएको हो । यस क्षेत्रमा कुल एक लाख २५ हजार ८१८ मतदाता रहेका छन् ।
यस्तै क्षेत्र नं १ मा एक लाख १९ हजार ९९८ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिका पर्दछन् ।
क्षेत्र नम्बर २ मा एक लाख आठ हजार २१९ मतदाता रहेका छन् । यस क्षेत्रमा भरतपुर महानगरपालिकाको वडा नं १ देखि ५, ७, १०, ११, १२ र २९ वडासँगै, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्दछन् ।
चितवनमा पुरुषको तुलनामा महिला मतदाता बढी देखिएका छन् । जिल्लामा कुल एक लाख ६९ हजार ९६५ मतदाता पुरुष छन् भने एक लाख ८४ हजार ६९ मतदाता महिला छन् । यस्तै जिल्लामा एकजना मात्रै तेस्रो लिंगी मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?