बङ्लादेशमा डुङगा दुर्घटना हुदाँ आठ जना रोहिङ्ग्या शरणार्थीको मृत्यु ४० जना बेपत्ता


ढाका: म्यानमारसँगको दक्षिणपुर्वी सिमानामा पर्ने बङ्गलादेशको बङ्गालमा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका रोहिङ्ग्या मध्ये अहिले सम्म आठ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
स्थानीय प्रहरी अधिकृत मोहम्मद अस्राफुज्जामानले सिन्ह्वासँग भन्नुभयो, “भेटिएका शवहरु मध्ये चार ओटा बालबालिका र चार ओटा महिलाका रहेका छन् ।” दुर्घटनामा परी अरु ४० जना हराइरहेको उहाँले बताउनुभयो ।
उहाँले डुङ्गा कतिवेला दुर्घटना भएको हो भन्ने बारेमा स्पष्ट नभएको तरसोमबार विहानै भएको हुनसक्ने बताउनुभयो ।
प्रहरी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार उद्धारकर्ताहरुले हराइरहेकाहरुको खोजी गरिरहेका छन् । घटनास्थल बङ्गलादेशको राजधानी ढाका देखि २९२ किलोमिटर दक्षिणीप्ूर्वमा पर्दछ ।
दुर्घटना भएका समय डुङ्गामा ७० जना रोहिङ्ग्याले यात्रा गरिरहेका थिए । ती मध्ये २० जनाले आफै पौडिएर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।
गत हप्ता पनि नाफ नदीको मुखैमा भएको यस्तै दुर्घटनामा परी मृत्यु भएका मध्ये कम्तीमा २८ जना रोहिङ्ग्याको शव भेटिएको थियो । यो घटनास्थल पनि बङ्गलादेश र म्यानमारको सिमानामा पर्दछ ।
गत अगस्ट २९ देखि अहिले सम्म भएका यस्ता २५ ओटा डुङ्गा दुर्घटनामा परेका कम्तीमा १३२ जनाको शव निकालिएको छ ।
म्यानमारको राखिन राज्यमा हिंसा फैलिएपछि गत अगस्ट २५ देखि झण्डै पाँच लाख रोहिङ्ग्या समुदायका मानिसहरु विस्थापित भएर बङ्गलादेश पुगेका छन् । (रासस÷सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?