‘सिक्रेट सुपरस्टार’को सुपरस्टार


बलिउड फिल्म ‘सिक्रेट सुपरस्टार’मा प्रमुख भूमिकामा देखिएकी युवा अभिनेत्री जायरा वसिमले आफ्नो सुपरस्टारको बारेमा बताएकी छन्।

उनले हालै आफ्नो सिक्रेट सुपरस्टार मेरी कोम र विराट कोहली रहेको बताएकी छन्।

मेरी कोम भारतकै एक उत्कृष्ट महिला बक्सर हुन्। सन् २०१४ मा मेरी कोमको जीवनमा आधारित फिल्म ‘मेरी कोम’ पनि प्रदर्शन भएको थियो। फिल्मको प्रमुख भूमिकामा प्रियंका चोपडाले अभिनय गरेकी थिईन्। ‘मेरी कोम मलाई निकै मनपर्छ। सानोमा रेडक्रसमा सहभागी हुँदादेखि नै मलाई उनी निकै उत्कृष्ट लाग्थ्यो’ जायराले भनिन्, ‘यदि मेरी कोम ३ बन्ने हो र त्यसमा अभिनय गर्न मलाई भन्ने हो भने म तयार छु।’

मेरीसँगै जायराले क्रिकेटर विराट कोहलीलाई पनि आफ्नो सुपरस्टार बताएकी छन्। उनले भनिन्, ‘म विराटलाई देख्दा आश्चर्य चकित हुन्छु।’

भारतीय खेलाडीहरू मेरी कोम र विराट मन पराउने जायरा आफैँ पनि आगामी डिसेम्बर १६ र १७ मा हुने म्याराथनकी ‘युथ एम्बेसडर’ हुन्।

अमिर खान अभिनित फिल्म ‘दगंल’बाट जायराले बलिउड फिल्ममा डेब्यु गरेकी थिइन्। फिल्मकी मुख्य पात्र गीता फोगटको बाल्यकालको भूमिकामा देखिएकी उनले उक्त फिल्मबाट ‘बेस्ट सपोर्टिङ एक्टर’ को उपाधीसमेत पाएकी थिइन्। हाल प्रदर्शनमा रहेको फिल्म सिक्रेट सुपरस्टारबाट पनि उनले निकै चर्चा बटुलिरहेकी छिन्।

जायरा पढाइमा पनि अब्बल छन्। उनले कक्षा १० मा पढ्दा ९० प्रतिशत अकं ल्याएकी उनले राज्यबाट दिइने १० जनाको मेरिट लिस्टमा समेत नाम निकालेकी थिइन्। भारतको जम्मुस्थित हेरिटेज स्कुलमा हाल कक्षा ११ मा पढ्दै गरेकी जायरा फिल्मभन्दा पहिले आफ्नो पढाइलाई प्राथमिकता दिन चाहन्छिन्।

फिल्म र पढाइ दुवै क्षेत्रमा सफल हुँदै गएकी जायरा आफ्नो भविष्यको भने कुनै योजना नरहेको बताउँछिन्।

‘मैले मेरो भविष्यको कुनै पनि योजना बनाएकी छैन्,’ उनी भन्छिन्, ‘योजना बनाउनु बेकार छ किनकी हाम्रो गन्तव्यले नै हाम्रा लागि योजना बनाइसकेका हुन्छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?