भारतीय काँग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी निर्वाचित


नयाँदिल्ली, २५ मङसिर (रासस÷एएफपी) ः भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी मनोनित हुनुभएको छ ।
पुर्वानुमान अनुसार नै उहाँ अध्यक्षमा मनोनित हुनुभएको घटनालाई ऐतिहासिक घटनाको रुपमा लिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
पार्टीका बरिष्ठ नेता मुल्लापाली रामचन्द्रनले काँग्रेसको नेतृत्व गान्धी परिबारबाट अर्को पुस्ताले गर्न लागेको बताउनुभयो ।
“राहुल गान्धी भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षको रुपमा मनोनित भएको घोषणा गरिएको छ,” उहाँले काँग्रेस मुख्यालय नयाँदिल्लीमा पत्रकारहरुसँग भन्नुभयो । “यो ऐतिहासिक घटना हो,” उहाँले थप्नुभयो ।
झण्डै दुई दशक देखि पार्टीको नेतृत्व गर्दै आउनु भएकी ७१ बर्षीय सोनीया गान्धीले राहुललाई अध्यक्षको पद हस्तान्तरण गर्नुभएको हो ।
गान्धी परिवारबाट पार्टीको नेतृत्वका लागि अर्को पुस्तालाई हस्तान्तरण हुनेगरी यस्तै निर्णय हुने अपेक्षा नै गरिएको थियो ।
राहुलका पिता राजीव गान्धी, उहाँका पिता फिरोज गान्धी र फिरोजका पिता जवाहरलाल नेहरुले भारतको प्रधानमन्त्री हुनुभएको थियो ।
राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आउनु भएकोमा अहिले अध्यक्ष बनाइएको हो ।
उहाँले आउदो शनिबार नयाँदिल्लीमा विषेश समारोहकाबीच पदीय जिम्मेवारी सम्हाल्नुहुनेछ ।
भारतीय काँग्रेसका कार्यकर्ताहरुले राहुल पार्टी अध्यक्षमा निर्वाचित भएपछि उहाँको समर्थनमा नाराबाजी गरेका थिए । कार्यकर्ताहरुले राहुल जिन्दाबाद भन्दै नारा लगाएका थिए।
“धेरै बर्षदेखि म यो दिनको प्रतिक्षामा थिएँ । मेरो हर्षको सिमा छैन,” लामो समयदेखि काँग्रेस पार्टीको सदस्य रहेका प्रेम चौधरीले भन्नुभयो ।
सन् २०१४ मा भएको आम निर्वाचनमा राहुलले पार्टीको तर्फबाट गरेको चुनावी प्रचार अभियान फितलो भएको भन्दै कडा आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?