श्रीलङ्कामा स्थानीय निर्वाचन फेब्रुअरीमा हुने


कोलम्बो: श्रीलङ्कामा आगामी फेब्रुअरी १० तारिखका दिन स्थानीय तहको निर्वाचन हुने भएको छ । देशभरी रहेका ३४१ स्थानीय तहको निर्वाचन गर्ने तयारी भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
श्रीलङ्का निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले निर्वाचनका लागि उम्मेदवारी दर्ता आह्वान गरिएको पत्रकारहरूलाई जानकारी दिनुभयो । उहाँले उम्मेदवारी दर्ताका लागि आउँदो डिसेम्बर २१ तारिखका दिनसम्म समय तोकिएको बताउनुभयो । स्थानीय निकायलाई श्रीलङ्कामा तेस्रो तहको सरकारी निकाय मानिन्छ । त्यस बाहेक यहाँ संसद र प्रदेश परिषद् पनि रहेका छन् । श्रीलङ्कामा गाँउ तहमा ४ हजार ९१४ ओटा निर्वाचन क्षेत्र रहेका छन् भने ती ठाँउहरुबाट पाँच हजार ९२ जना जनप्रतिनिधिहरु निर्वाचित हुनेछन् । सन् २०१५ मा भएको संसदीय निर्वाचन पछि अहिले पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेको हो । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?