देउवाका भष्मासुर सल्लाहकार


हिमाली उपाध्याय
दानवहरुको इतिहासमा भष्मासुर नामक राक्षसको एउटा कथा आउँछ । उसले महादेवको घनघोर तपस्या गर्छ र जसको टाउकोमा हात राख्यो त्यो भष्म हुने बर्दान पाउँछ र अन्त्यमा महादेवकै टाउकोमा हात राख्ने प्रयात्न गर्दा आफ्नो टाउकोमा हात राख्न पुगेर भष्म हुन्छ । यतातिरका दिनमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका सल्लाहकारहरुले पनि त्यस्तै भष्मासुर प्रकृतिको सोच, समझ नियत राखेका एउटा घटना मिडियामा ब्रेकिङ समाचार भएर सार्वजनिक भयो । शेरबहादुर देउवाले कमरेड पुष्पकमल दाहाल प्रचण्डलाई आगामी ५ वर्षका लागि कांग्रेस र मधेशी दलको समर्थनमा प्रधानमन्त्री वन्न प्रस्ताव राखेका रहेछन् । तथ्यमा देउवाले प्रचण्ड समक्ष यस खालको प्रस्ताव राख्नु भनेको कांग्रेस पार्टी समाप्तै हुने लक्षण हो । यस्ता भष्मासुर नियतका सल्लाह देउवालाई कस्ले दिन्छन् ? यो प्रश्न यति खेर अधिराज्यका कांग्रेस जनमा ठूलो सोध खोज थाहा पाउनु पर्ने विषय भएको छ ।
देउवाका हकमा पनि सल्लाहकारका यस्ता सल्लाहहरुलाई विचार पु¥याएर मात्र कार्यान्वयनमा लग्नु पर्ने आवश्यकता टडकारो देखिएको छ ।
प्रान्त र प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको निर्वाचन परिणाममा कांग्रेस धेरै पछि परेको अवस्य हो । देउवावाहेक कांग्रेसी चुनावी अभियानका प्रायः सबै नायकहरु पराजित भए । रामचन्द्र पौडेल डा. रामशरण महत, अर्जुननर सिंह केसी, शेखर कोइराला जस्ता नेताहरु हार्नु कांग्रेस भित्र अकल्पनीय जस्तो थियो । देउवाले आफ्नो उत्तराधिकारका रुपमा पत्नी आरजु राणालाई अघि सार्न खोजेका भनेर जतिसुके प्रचार गरिएको भए पनि अशली उत्तराधिकार आरजु थिइनन् ।
त्यहाँ हक पुग्ने भनेको पौडेल, महत, के.सी. र कोइरालाकै हुन्थ्यो । यस दृष्टिकोणले प्रत्यक्ष तर्फको निर्वाचन परिणामले कांग्रेसलाई ठूलै धक्का पुगेको हो । यसो भनेर फेरि कांग्रेस माओवादी कमाण्डर कमरेड प्रचण्ड सक्ष घुँडा टेक्नै पर्ने अवस्थामा पुगेको भन्ने चाहिं होइन् । समानु पातिक तर्फको परिणाममा कांग्रेस मात्र ४५ हजारले एमालेसँग पछि देखिनु भनेको अर्को अकल्पनीय तथ्य हो । एमालेको त्यत्रो राष्ट्रवादको तुफानी लहर चलेका बेलामा कांग्रेसले माओवादी मधेशवादी सबैलाई उछिनेर एमालेकै हाराहारीमा पपुलर मत पाउनु भनेको सानो कुरा होइन् । कांग्रेसले पाएको मतबाट त एमालेको राष्ट्रवादको नाराको हावा पनि खुस्किएको देखिन्छ । समानुपातिकमा कांग्रेसले पाएको मतले हारेका नेता मात्र हुन, पार्टी होइन भन्ने पुष्टि हुन्छ । डा. रामशरण र महेश आचार्य हार्नु त एकदम स्वाभाविक थियो । ०४६ पछि कांग्रेस सत्तामा पुग्दा यिनीहरुले अघि सारेका आर्थिक नीतिकै कारण मुलुकले १० वर्षे हिंसात्मक रगतपिच्छे दुर्भाग्य बेहोर्नु परेको थियो । कौडीको मूल्यमा नाफामा रहेका उद्योगहरु वेचेर पूर्णरुपमा परनिर्भर अर्थतन्त्र निम्त्याएका कारण नै आज तीन करोड पनि जनसंख्या न नाघेको मुलुकका ६० लाख स–शक्त जनशक्ति विदेशमा कामदार हुन विवश भएका छन् । यस दृष्टिले ०४६ सालदेखि यहाँसम्मको कांग्रेस नेतृत्वले एक पटक धक्का पाउनु स्वाभाविक थियो । रामचन्द्र, शेखर कोइराला, आदि इत्यादिहरु जति पनि पार्टी र पार्टीको सरकारमा हालिमुहाली मच्चाउने नेताहरु हारे तिनीहरुले पनि पार्टी र सरकारलाई आफ्नै विर्ता र जमिन्दारी जस्तो गरेर चलाएका थिए । राजनीतिमा सत्तास्वार्थ अवस्य हुन्छ । तर आज कांग्रेस नेतृत्वमा ‘सत्तास्वार्थ’ मात्र न भएर ‘सत्तान्धता’ नै हावी भएको थियो । त्यस कारण यस पटकको निर्वाचनबाट कांग्रेसका प्राधिकार नेतृत्वले मात्र धक्का पाएका हुन् । कांग्रेस पार्टीले भने कुनै धक्का पाएको छैन भन्ने समानुपातिकको मतबाट प्रष्ट हुन्छ ।
चुनाव हारेपछि रामचन्द्र पौडेल धुरु धुरु रोए भन्ने समाचार मिडियामा आयो । तर मैले भने पौडेल त्यसरी धुरु धुरु रुनु पर्ने कुनै कारण देखेकी छैन । चुनावमा हारजित स्वभाविक हो र र त्यसलाई स्वाभाविक रुपमा नै लिनुपर्छ । मैले हेर्दा कांग्रेसले माओवादी कमाण्डर समक्ष घुडा टेक्नुपर्ने अवस्था आइपुगेको छैन । यस्तो अवस्था त ०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि आएको थियो । तर दोस्रो संविधानसभा चुनावमा त पहिलो शक्ति भएर सुशील कोइराला प्रधानमन्त्री भएर नयाँ संविधान आदि गर्ने इतिहास नै रचना भएको थियो । पाँच वर्ष पछिको चुनावमा बहुमत ल्याएर कांग्रेस फेरि सत्तामा न पुग्ने भन्ने छैन । यस्ते उज्यालो भविष्यको प्रचुर सम्भावना हुँदा हुँदै पनि कमरेड प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्री बन्ने प्रस्ताव गर्ने सल्लाह देउवालाई क–कसले दिएका हुन् ? आम कांग्रेसजनमा खुलदुली देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?