अब कमजोर सरकार बन्दैनः अध्यक्ष दाहाल


चितवन: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजोको जस्तो कमजोर सरकार अब नबन्ने बताउनु भएको छ ।
उद्योग संघ चितवनले आज जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले भनेर पनि गर्न नपाइने स्थिति अब रहने छैन भन्नुभयो ।
उहाँले भन्नुभयो, “अब बन्ने सरकारले भनेपछि त्यो लागू हुन्छ ।” स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार संयुक्त रुपमा सँगै रहेको भन्दै उहाँले आयात निर्यात सम्बन्धी राष्ट्रका हितविपरित कानुनलाई संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबैले संकल्प गर्न सक्यौँ भने आउने पाँचवर्ष भित्रमै केही न केही आर्थिक क्रान्ति र विकासको मोडल राष्ट्र र दुनियाँको अगाडि राख्न सकिन्छ भन्ने विश्वास छ ।”
अहिले नै आफूले बढी भन्न नचाहेको भन्दै उहाँले निजी क्षेत्रका व्यवसायीको मागलाई अब बन्ने सरकारले गम्भीरतापूर्वक लिने बताउनुभयो ।
शान्ति, सुशासन र समृद्धिकाबीचमा गहिरो अन्तरसम्बन्ध रहेको भन्दै उहाँले यी तीन वटालाई एक ठाउँमा जोडेर हामीले काम गर्न सक्यौँ भने विकासले तीव्रगति लिने बताउनुभयो ।
कार्यक्रम भईरहेको उद्योग संघ चितवनको अगुवाइमा बन्दै गरेको प्रदर्शनी केन्द्रलाई लक्षित गर्दै उहाँले निजी साझेदारीमा भएका कतिपय काम निकै नमुनायोग्य भएको बताउनुभयो । सो अवसरमा प्रदेश सांसद विजय सुवेदीले देशलाई अब समृद्धितर्फ लैजानुपर्ने बताउनुभयो ।  उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकमा सुशासन भएसँगै समृद्धि आफँै हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?