अस्थिरताका खतर्नाक खेलाडी प्रचण्ड


डा. जशवीर माझी
नेपाली राजनीतिको वर्तमान चरणमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अस्थिरताका एक सुपर खेलाडी देखिएका छन् । स्थिरताको त्यत्रो ठूलो विश्वास दिलाएर भोट बटुलेको ‘वाम गठबन्धन’को धाकलाई ‘पालो पालो प्रधानमन्त्री’ भनेर मिष्टर प्रचण्डले आगोमा पानी खन्याए साह एकै पटक झ्वाम पारी दिए । खलास तुल्याइ दिए । ‘पालो पालो प्रधानमन्त्री’ सुन्ना साथ गठबन्धनलाई स्थिरताको आशा लिएर भोट हाल्ने आम मतदाता आकाशबाट खसेको जस्तो झल्यास्स भए । अक्क न वक्क परेका छन् । ठूलो विस्मात लिएर पश्चाताप र प्रतिक्रिया पनि गरेका छन् । ‘जब पालो पालो गरेर मिलेर भाले खाने नै कुरो थियो भने त्यत्रो हल्ला गरेर जनतालाई किन मुर्ख बनाएका ? बेबकुफ बनाएका ? कमसेकम भोट हाल्नु अघि मात्र मिष्टर प्रचण्डले यो प्रधानमन्त्री पालो पालोको भागवण्डालाई खुलासा गरिदिएका भए वाम गठबन्धनलाई मतदाताले देखाइ दिने पक्का थियो । यो पालो पालोको मिलेर भाले खाने वामगठबन्धनको योजना बारे एउटा पत्रकार टोलीले नमुना सर्वेक्षण गर्दा हरेक मतदाताले उल्लेखित भनाइहरुनै प्रतिक्रिया गरेका छन् । जब पालो पालो भनिन्छ भने चाहे त्यो नौनौ महिनाको होस् या दुई दुई वर्षको होस् कुरो भागवण्डाको भइ नै हाल्यो । सोच, समझ नियतनै जब भागवण्डामा आधारित छ भने त्यस्तो सरकारले देशमा स्थिरता, शान्ति र विकास ल्याउला भनेर आशा गर्नु काका कुलको तिर्खा जस्तो मात्र हो भन्ने थाहा पाएर आम मतदाता प्रष्टै भइसकेको सर्वेक्षणबाट पनि देखिन्छ ।
जब यहाँ नेरी एउटा प्रश्न अत्यन्त टड्कारो भएर उपस्थित हुन्छ । ‘ वामगठबन्धन’को स्थिर सरकार दिने त्यत्रो ठूलो प्रतिवद्धताको हावा खुस्किने ‘पालो पालो प्रधानमन्त्री’ को योजना ठिक यसै बेला मिष्टर प्रचडले भण्डाफोर किन गरे ? जबकी उनले यो समझदारी मतदाताले भोट हाल्नु अघि चुनावप्रचारकै समयमा ल्याउनु पर्दथ्यो । मतदातालाई प्रश्न गर्न विचार पु¥याउन समय मिल्दथ्यो । होइन भने कि कमसेकम खड्ग खोली प्रधानमन्त्री भएर एकवर्ष उनको कार्यकाल हेरेर सल्लाहबाटै बाहिर ल्याएका भए एउटा सुझबुझ जनतासँग गरेका प्रतिवद्धताप्रति जिम्मेवार र इमान्दार रहेका भन्ने देखिन्थ्यो पनि । यो समझदारीले स्थिरता र विकास अभियनलाई केही फरक पर्दैन भनेर जनतालाई सम्झाउन पनि सजिलो हुन्थ्यो । यो देशमा प्रधानमन्त्रीको कुर्सीभन्दा माथि राष्ट्र, जनता, प्रणाली हुन्छ भन्ने कृष्णप्रसाद, गणेशमान वाहेक, अझै अर्को राजनेता जन्मिन सकेको छैन । जसले अगाडिको कुर्शीमात्र न हेरेर भविष्यको पुस्ताको भविष्यका बारेमा पनि दुर दृष्टि राखोस् । एक पटक मानिसहरुले मिष्टर हुनु अघिका कमरेड प्रचण्डबाट यस्तो अपेक्षा राखेका थिए । तर प्रचण्डले त्यस खालको अपेक्षालाई एकै झड्कामा मेटिया मेट तुल्याइ दिए । १७ हजार भन्दा बढी नेपाल आमाका सपुतहरुको बलिदानमाथि उभिएर जुन दिन प्रचण्डले गिरिजाप्रसाद कोइरालाबाट टिका थापेर ७३ टिके सांसदका बलमा गिरिजाप्रसाद बन्ने दौडमा सामेल भए त्यही दिन उनको राजनेता बन्ने भविष्य खलास भयो । स्खलिन भयो । उनी धेरै नै न राम्रो सँग चुके । उनले अलिकति गगणेशमानजीबाट पाठ सिकेको भए पनि उनी जोगिन्थे । १२ बुँदै दिल्ली सम्झौता गरेर जङ्गलबाट शहर पसेपछि उनले अरु केही गर्ने गर्दैन थियो । गिरिजाप्रसाद कोइरालाका टिके सांसदका त्यहाँ कुनै सन्दर्भ थिएन । गिरिजाको सत्ता फिर्ता आन्दोलन २०६२ त्रिचन्द्र कलेजको हातामा पंजेरो थन्काएर रत्नपार्कमा धर्ना बस्नमा सिमित भएको थियो । मानिसलाई कांग्रेसको सत्तारोदनसँग कुनै मतलब थिएन । ०४६ को जनआन्दोलनमा गणेशमानको जस्तै ०६३ को जनआन्दोलनमा प्रचण्ड को भन्ने त स्थापित नै थियो । त्यतिखेर कमरेड प्रचण्डले ‘६ महिना भित्र आफ्नो नेतृत्वको अन्तरिम सरकारले संविधानसभाको चुनाव’ भन्ने मात्र अडान राखिदिएका भए उनको प्रधानमन्त्रीको धोखो पनि पुरा हुन्थ्यो । मुलुकमा आजको जस्तो भाडभैलो राजनीतिमा फसेर बर्वादी बेहोरिरहनु परेको पनि हुने थिएन ।
वामगठबन्धनका एक नायक नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद ओली प्रधानमन्त्री हुने पक्का भइसकेपछि उता लोकतान्त्रिक गठबन्धनका नायक प्रधानमन्त्री शेरबहादुर देउवाले कुर्सी छोड्न पाउनु अघिको ठिक समय पारेर मिष्टर प्रचण्डले पालो पालो प्रधानमन्त्री जस्तो अस्थिरताको विउ किन रोपे ? भन्ने प्रश्नको उत्तर प्रष्टै र छर्लङ्गै छ । ०५१ को मध्यावधिपछि एमाले भन्दा कांग्रेस दोस्रो भएको समयमा निर्दलका पूर्व प्रधानमन्त्रीद्वय सूर्यबहादुर थापा र लोकतन्त्रबहादुर चन्दको भूमिकालाई उनले आफ्नो राजनीतिक मागदर्शन बनाए । हेर्दै जानु होला । अब प्रचण्ड मधेशवादी दलसँग घाटी जोड्न पुग्ने छन र शेरबहादुरलाई देखाएर खड्ग खोलीलाई हमेशा तसाई रहने छन् । अस्थिरता मिष्टर प्रचण्डको फिदरत (मौलिक चरित्र) हो । राष्ट्रपतिको सवालमा गिरिजाप्रसाद कोइरालालार्ई चिप्लाइदिए । त्यसैले अस्थिरतालाई मलजल गर्न निकै मद्दत ग¥यो । कटवाल प्रकरणमा आफै चिप्लिएपछि दुई ठाउँबाट चुनाव हारेका माधवकुमार नेपाललाई प्रधानमन्त्री नै बनाएर देखाइ दिए । प्रधान न्यायधीशलाई प्रधानमन्त्री बनाएर लोकतन्त्रको प्राणतत्व शक्ति पृथकीकरणको सिद्धान्तालाई लगौटी फुकाली दिने योजनाकार पनि उनी नै थिए । यस्तै धेरै अनगिनत उदाहरणहरु छन् । जस्ले मिष्टर प्रचण्ड आस्थिर राजनीतिका खतर्नाक खेलाडी हुन भन्ने पुष्टि र प्रमाणित हुन्छ । आस्था डगमगाएर आत्मा लजाएका जमातहरुबाट स्थिरता, शान्ति र विकासको राजनीतिको अपेक्षा राख्नु मतदाताकै अज्ञानता या महामुर्खता हो । आउँदो पाँच वर्ष अब आफ्नै अज्ञानता र मूर्खताको दुश्परिणाम झेल्नुभन्दा अर्को विकल्प छैन । ख्याति प्राप्त संविधान विद् भीमार्जुन आचार्यले ठिकै भनेका छन् । यिनीहरुबाट स्थिरता शान्ति र विकास हुने त धेरै टाढाको कुरा भयो पाँच वर्षमा देशलाई मात्र जोगाए भने पनि ठूलो कुरा हुनेछ । आचार्यको कथन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?