नेपालमा-भारतीय नृत्य र संगीतको प्रतिस्पर्धा


काठमाडौं–भारतीय भूमिमा चर्चित नृत्यहरू नेपाली भूमिमा देखाइएको छ । स्थापनाका हिसाबले भारतीय मानिने चर्चित भरत नाट्यम, ओडेसी, कत्थक, लोकनृत्यसँगै आधुनिक, परम्परागत, अर्ध सांस्कृतिक नृत्यहरू काठमाडौंस्थित सर्वनाम थिएटरमा देखाइएका हुन् । ‘नेपाल इन्टरनेशनल डान्स एण्ड म्युजिक फेस्टिभल’ नाम दिइएको सो कार्यक्रममा नेपाली गीत संगीतका नृत्य भने सामेल थिएनन् । भारतीय भूमिका अधिकांश स्कुले बालबालिकाले ती नृत्यहरू प्रस्तुत गरेका थिए । केही अग्रज कलाकारले पनि उनीहरूसँगै आफ्ना कला प्रस्तुत गरेका थिए । ओडिसी नृत्यमा दख्खल राख्ने अभिसिका बुयानले नृत्य प्रस्तुत गर्दै वाहवाही बटुलेकी थिइन् । मध्यप्रदेशबाट आएको एक समूहले भरत नाट्यम नृत्य प्रस्तुत गर्दा पनि दर्शकले प्रशंसा गरेका थिए ।आइतबार छत्तिसगढकी प्राञ्जली शर्माले सेमी क्लासिकल, आसामकी संगीता बोहोराले आसामी लोकनृत्य, कस्तुरी शकियाले आधुनिक नृत्य देखाएकी थिइन् । त्यस्तै आसामकै मृगाक्षी बनिया, प्रीतिरानी बोगईले पनि आफ्ना कला संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए । आसामकी तमन्ना बुयानले भने नेपाली र आसामी दुवै भाषाको गीतमा नृत्य गर्दा नेपाली दर्शकको साथ पाएकी थिइन् । आसामकै सुरजराज, उडिसाका साइ प्रसन, जमशेदपुरकी रोशनी बनर्जी लगायतले पनि विभिन्न विधाका नृत्य प्रस्तुत गरे । शनिबार र आइतबार दुई दिन चलेको महोत्सवअन्तर्गत पहिलो दिन ३० वटा नृत्य प्रस्तुत गरिएका थिए । त्यस्तै दोस्रो दिन आइतबार ४८ वटा नृत्य प्रस्तुत गरिएका थिए । विभिन्न विधाअन्तर्गत हरेक विधामा उत्कृष्ट हुनेलाई सोही दिन नै पुरस्कार प्रदान गरिएको थियो । भारतका विभिन्न राज्यका बालबालिका र अभिभावक महोत्सवमा सहभागी हुन आएका थिए । महोत्सव सकेलगत्तै टोलीले काठमाडौंस्थित विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?