भारत नियन्त्रित काश्मिरमा आतङ्ककारी कमाण्डर मारिए


श्रीनगर, भारत नियन्त्रित काश्मिर: (रासस/सिन्ह्वा) ः प्रायः अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा अर्ध सैन्य बलसँग भएको दोहोरो गोली हानाहानमा परी मङ्गलबार एकजना वरिष्ठ आतङ्ककारीको मृत्यु भएको समाचार छ ।
भारत नियन्त्रित काश्मिरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट करिब २८ किलोमिटर दक्षिणमा रहेको पुल्वाना जिल्लाको समबोओरा गाउँमा उक्त दोहोरो गोली हानाहान शुरु भएको थियो ।
पुल्वाना जिल्लामा गस्तीमा खटिएको भारतीय अर्ध सैन्य बलको कारबाहीमा परी आतङ्ककारी समूह लस्कर ए तोएबाको एकजना वरिष्ठ कमाण्डर जैस इ मोहमद मारिएको पुष्टि भएको प्रहरीले जानकारी दिएको समाचारमा जनाइएको छ ।
प्रहरीका अनुसार विशेष गुप्तचरको सूचनाअनुसार सो क्षेत्रमा कारबाही शुरु गरिएको थियो । यस इलाकाको प्रहरीका प्रमुखले सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार यी आतङ्ककारी कमाण्डरले श्रीनगर जम्मुको राजमार्गका कतिपय क्षेत्रमा आक्रमणको योजना बनाएको सूचना प्रहरीले पत्ता लगाएको थियो ।
उक्त इलाकामा सोमबार साँझदेखि नै दोहोरो गोली हानाहान जारी रहेको थियो । स्थानीय प्रहरीका अनुसार यस कारबाहीका क्रममा एकजना प्रहरी पनि घाइते भएका थिए ।
सो क्षेत्रमा आतङ्ककारी समूहले गएका केही दिनदेखि हिंसा मच्चाउने योजना बनाएकामा सो सूचना प्राप्त गरेपछि अर्ध सैन्य बल र प्रहरीले संयुक्तरुपमा उक्त कारबाही गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?