नयाँ दिल्लीमा बाक्लो हुस्सुका कारण रेलसेवा अवरुद्ध


नयाँ दिल्ली: नयाँ दिल्लीमा बाक्लो हुस्सु लागेका कारण बुधबार यहाँको रेलसेवा अवरुद्ध भएको समाचार छ ।
भारतीय राजधानी नयाँ दिल्ली र यस वरपरका स्थानमा बुधबार बिहानैदेखि लागेको बाक्लो हुस्सुको मात्रा नघटेको र झन बढ्दै गएपछि रेलसेवा अवरुद्ध हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतीय अधिकारीहरुका अनुसार बुधबार बिहान कम्तीमा पनि ३० वटा रेलको सेवा अवरुद्ध भएको छ । बिहान सवेरैदेखि सेवा दिनुपर्ने ती रेलमध्ये कमैले मात्र बुधबार मध्यान्हमामात्र सेवा सुरु गरेका छन् ।
त्यसैगरी हुस्सुका कारण बुधबार बिहानका १८ वटा रेलको सेवा नै रद्द हुन पुगेको बताइएको छ । बाक्लो हुस्ससका कारण बाटो नदेखिएकोले रेल सेवा अवरुद्ध हुन पुगेको जानकारी अधिकारीहरुले दिएका छन् ।
नयाँ दिल्लीका कैयौँ स्थानमा वायु प्रदुषणको मात्रा बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । बुधबार दिनभर पनि यहाँको तापक्रम र हुस्सुको मात्रा दुवै घट्ने मौसम विज्ञान विभागले जनाएको छ ।
साथै उक्त विभागले बुधबार दिउसोको तापक्रम बढीमा २८ डिग्री र न्युनतम सात डिग्री सेल्सियस रहने अनुमान गरेको पनि नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । (रासस/एएनआई)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?