खतर्नाक अन्तर्घाति भोजहरु


डा. जशवीर माझी
संघीय गणतन्त्रात्मक संविधानको ऐतिहासिक प्रथम ‘महानिर्वाचन–०७४’ सफलता पूर्वक सम्पन्न भयो । प्रधानमन्त्री फेरिन बाँकी छ, त्यो भइहाल्छ । नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवालाई एक ससमय पूर्व राजा ज्ञानेन्द्र शाहले चुनाव गराउन न सक्ने ‘असक्षम’ चिनारी दिएर प्रधानमन्त्रीबाट बर्खास्त गरेका थिए । इतिहासले ‘असक्षम’ शेरबहादुर होइन ज्ञानेन्द्र थिए भन्ने पुष्टि गरिदियो । चुनाव सफलता पूर्वक सम्पन्न भएर देउवाको इतिहासको एउटा कालो दाग भेटियो । होइन भने त्यही ज्ञानेन्द्र कालकै इतिहास देखाएर एमाले अध्यक्ष खड्ग खोली चुनावको अघिल्लो दिन सम्म पनि ‘शेरबहादुरले चुनाव भाड्छन, एक वर्ष पर सार्छन’ भाषण गरिरहेका भेटिन्थे । वामगठबन्धन अस्तित्वमा आएपछि कांग्रेस भित्रका एकथरी जो हाली मुहाली मनपरि गर्न पाएका थिए, तिनले चुनाव एकवर्ष पर सार्न देउवालाई सल्लाह दिएका मिडियामा समाचार आएको पनि थियो । त्यही आधारमा खड्ग खोली बोलेका थिए ।
ऐतिहासिक चुनाव सानदार ढङ्गले सफलता पूर्वक सम्पन्न भएको मा प्रधानमन्त्री शेरबहादुर देउवाले चौतर्फी स्यावासी पाए । जुन स्वाभाविक नै थियो । चुनावले राजनीतिक कित्ताकाट एकदम छर्लङ्ग रुपमा अगाडि आयो । नेपालमा कम्युनिष्टहरुले एकलौटी शासन गर्न पाएका भनेको जम्मा जम्मी मनमोहन अधिकारी पालाको नौ महिना मात्र हो । होइन भने ०७ साल यताकै यो सम्पूर्ण कालखण्डमा राजाका भरौटे दरवारियाहरु, पञ्चहरु, कांग्रेसहरु आलोपालो गरेर या साँठगाँठ गरेर यिनीहरुकै हुकुमी शासन नै चलेको हो । ०७ सालदेखि यताको आजसम्मको सत्ता चरित्रले राष्ट्रलाई कंगाली र बेहालीको कुन रशातलमा पु¥याएको छ भन्ने त सर्वत्र छर्लङ्ग छदैछ । चुनावको परिणाम पछि कम से कम आउँदो पाँच वर्षसम्म कम्युनिष्टहरुको एकलौटी सरकार चल्ने भयो भन्ने देखिएपछि आम जनता जागरणमा एक खालको उत्सुकुता जिज्ञासा उत्पन्न भएको छ । पंचहरु र कांग्रेसले देखाएको सत्ताचरित्र भन्दा कम्युनिष्टहरुले अलि फरक ढङ्गको सत्ता चरित्र देखाउलान कि भन्ने एउटा नयाँ आशा पनि कता कता टुसाउन थालेको छ । भोलि बन्ने बाम गठबन्धनको सरकारले पहिलो काम केबाट थाल्लान भन्ने थाहा पाउने जिज्ञासा त सर्वत्र छदैछ । अजय सुमार्गी र चुडामणि शर्माको आर्थिक अपचलनको केशबाट सुशासन प्रारम्भ गर्न थाले भने ‘वामगठबन्धन’ को सरकारले जनताको समर्थन र सहयोग पाउन थाल्ने निश्चित छ । किनभने नेपालको खासगरी ०४६ साल यताको राजनीतिको सबैभन्दा ठूलो समस्या भनेको नै
भ्रष्टाचार’ र ‘कमिशन खोरी’ हो । भ्रष्टाचार र कमिशन खोरी नियन्त्रण हुने हो भने तसकरी कालो बजारी आफै नियन्त्रण हुन बाध्य हुन्छ । यहाँ सबै भन्दा ठूलो स्थिति विग्रेको नै सांसद र मन्त्रीहरुनै रातो पासपोर्ट बेचेर तस्कर र माफियाका भरिया भएर हो । होइन भने राज्यसत्ता लोकतन्त्र गणतन्त्रको मुलजग कानुनको राज्यमा चल्ने हो भने अजयसुमार्गी चुडामणि शर्मा जस्ता केसमा तैं चूप मै चूप हुनुपर्ने अवस्थै आउँदैन । ‘भ्रष्टाचार’ को केशमा ‘वामगठबन्धनको सरकार ‘चिनिया कानुन प्रणाली’ मा जाला कि भन्ने चिया गफहरु सुनिन थालेको पनि छ । तर यहाँ चिया गफहरु भन्दा पनि चुनाव सम्पन्न पछिका खतर्नाक अन्तरघाती भोजहरुका बारेमा चर्चा गरिदैछ ।
चुनावको परिणाम आइसकेपछिका जुन अन्र्तघाति भोजहरुका बारेमा यहाँ चर्चा गरिदै छ त्यसले हाम्रो वर्तमान राजनीति भित्र फस्टाउँदै गएको एउटा विकृत मानसिकतालाई पनि दर्शाउछ । त्यसै कारण यस खालको चर्चा आवश्यक भएको हो । हामीले मतदान सम्पन्न भएर मतगणना प्रारम्भ भएपछि ठाउँ ठाउँबाट उम्मेदवारहरुका जित हारमा पाँच लाख देखि खसी काटेर भोज खुआउने सम्मका बाजी थापिएका समाचारहरु त प्रशस्त पढेका थियौं । तर यहाँ भने ती बाजी थापिएका भोजहरुभन्दा फरक अचम्म लाग्दा भोजका कुरा गरिदैछ । म बसेको छेउ नजिकै कांग्रेसका एक पुराना धाधडान नेता बस्छन् । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, दमननाथ ढुङ्गाना शिवबहादुर खडुकासँगै कांग्रेसमा काम गर्न थालेका उनीहरुका एक समयका लगौटीया यार ७० उमेर नाघि सकेका छिमेकी सबैले इज्जत र सम्मानको नजरले हेर्छन । उनका पूजा, पाठ, भोज भतेर हुँदा पंक्तिकारलाई पनि बोलाउने गरिएको थियो र जाने गरेको थिए । खसी काटेर भोज गरिएको छ भनेर निम्ता आयो र गएँ । सुरुमात भोक लागेको बेला खसीको स्न्याक के को भोज होला ? थाहा पाउने सोच आएन । जब पेग थपिदै जाँदा र पेट पनि शान्त भएपछि के को भोज? भनेर सोधियो त अचम्मको उत्तर आयो । त्यतिखेरसम्म लागेको सबै नशा एक झड्कामा ओर्लियो । त्यो भोज कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल चुनाव हारेकोमा थियो । रामचन्द्र चुनाव हार्दा वाम गठबन्धनको कुनै नेताले खसी काटेर विजयी भोज खुआउनु अस्वभाविक थिएन । तर एउटा बरिष्ठकै इतिहास बोकेको कांग्रेसी नेताले अर्को कांग्रेसकै बरिष्ठ नेता हार्दा भोज गर्नु खुशीयाली भनाउनु चाहिं अचम्मको कुरो थियो ।
यो एउटा उदाहरण मात्र हो । अर्को वामदेव गौतम चुनाव हार्दा अर्का वामगठबन्धनका वामदेव टक्करकै नेताले पनि भोज गरेका थिए भन्ने समाचार आएको थियो र यस खालका अन्तरघातका भोजहरुको यस पटक देशव्यापी नै लहर आएको पाइएको छ । दलीय प्रणाली पार्टी सिष्टम राजनीतिमा यस पटक यो एउटा अत्यन्त घातक प्रवृत्ति देखा परेको छ । यो रोगले कुनै एक पार्टीलाई मात्र सताउँछ भन्ने छैन । सबै पार्टीलाई घायल तुल्याउँछ । त्यसो हुँदा यस खालका प्रवृत्ति चरित्रबाट जोगिन सबै दलहरु उत्तिकै सहज हुनुपर्छ भन्ने ध्ययेयले यस्तो टिप्पणी गरिएको हो । अस्तु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?