भजनशिरोमणि, गौभक्त, कृषक, तोयनाथ उपाध्याय


आचार्य तुलसीराम पोखरेल
८३ वर्षको उमेरमा ०७३ साल पुस २५ गते यस धर्तीलाई परित्याग गरी ब्रह्मलीन हुनुभएका तोयनाथ उपाध्याय १९ फागुन १९९० सालमा पिता रामेश्वर र माता लक्ष्मीको कोखबाट जन्मिनुभएको हो । उहाँका हजुरबुबा राधु उपाध्याय हुनुहुन्छ । सात भाइ छोरामध्ये पाँचौँ सन्तान उहाँको आध्यात्मिक जीवनयात्रा अत्यन्त दुर्लभ छ । भगवान् रामको परम्भक्त एवं रामभजन प्रेमी, पृथ्वी माता, गौ–सेवा उहाँको कर्मयोगी जीवनका विविधि आयाम छन् ।

हरे नाम हरे नाम हरे नामैव केवलम्
कलौ कलौ नास्त्येव गतेरन्यथा
कृते यद् ध्यायतो विष्णु त्रेतायां यजतो मखैः
द्वापरे परिचयौयां कलौ केशव कीर्तनात्

भगवान्को नाम संकीर्तनले नै कलियुगमा सहज मोक्ष प्राप्ति हुन्छ भन्ने तोयनाथलाई राम्रो हेक्का थियो । उहाँ हार्मोनियम, भजनकीर्तन मुरली आफैँ बजाउनुहुन्थ्यो । भजन–कीर्तनले आत्म परिस्कार एवं शुद्धि भई मोक्ष प्राप्त गर्ने मार्गमा प्रवृत्त गराउँछ । नैतिक ज्ञान, देहशुद्धि आत्मशुद्धि र जीवनको वास्तविक लक्ष्य प्राप्त गर्छ । जीवन कुनै भोग्य पदार्थ ग्रहण एवं मनोरञ्जन गर्न मात्र होइन, सत्गति प्राप्त गर्ने बाटोमा लाग्नुपर्छ । आजका मानिसको जीवन आध्यात्मिक दर्शनभन्दा भौतिक सुख र आनन्द प्राप्त गर्ने माध्यम मात्र खोजिरहेको हुन्छ । तर, त्यसले शान्ति प्राप्त गर्न सकिँदैन भनेर नै उहाँ सत्य मार्गमा लाग्नुभयो । भगवान्को भजन नाम उहाँको जीवनको अन्तिम क्षणसम्म अविछिन्न रहिरह्यो ।
श्रीमद्भागवतमा नवधाभक्तिबारे वर्ण गरिएको छ ः

श्रवंण कीर्तनं विष्णोः स्मरणं पाद सेवनम्
अर्चनं बन्दनं दास्यं सख्यमात्म विनेदनम्
श्रीमद्भागवत ७।५।२३

भक्तिका नौ विधि छन् । श्रवण, कीर्तन, विष्णु स्मरण पाद सेवन, अर्चन, वन्दन, दास भएर भगवान् सेवा गर्नु, आत्म निवेदनपूर्वक सेवा गर्नु । भक्तिभावपूर्वक लटपटिनु, समर्पण भावले सेवा गर्नु हो । यी नवधा भक्तिको अनुसरण श्री उपाध्यायले गर्नुहुन्थ्यो ।
गौ सेवा
उहाँले भारतको आसाममा २०औँ वर्ष गौ सेवा गर्नुभयो । गौ सेवामा लागेपछि उहाँ त्यहीँ हराउनुहुन्थ्यो । आसाममा २ सयभन्दा बढी गौ सेवा गर्नुहुन्थ्यो जसरी महाकवि कालिदासद्वारा विरचित रघुवंश महाकाव्यमा दिलीप राजाले गौ सेवा गरेका थिए । साथै, भजनकीर्तन गर्नुहुन्थ्यो । उहाँले कर्मकाण्ड पनि गर्नुभयो । पाठ वाचक, उपवाचक भएर पनि सनातन धर्म र गौ सेवाको प्रचार गर्नुहुन्थ्यो । प्रातः ३ घण्टा र साँझ ३ घण्टा उहाँले गौ सेवाका लागि छुट्ट्याउनुहुन्थ्यो ।
शास्त्रमा भनिएको छ ।

नमो गोभ्यः श्रीमतीभ्यः सौरभेयीभ्य एवच ।
नमो ब्रह्मसुतायश्च पवित्राभ्यो नमो नमः ।।
गवामङ्गेषु तिण्ठन्ति भुवनानि चतुर्दश ।
यस्मात्तस्मच्छिवं मे स्यादिह लोके परत्र च ।।

नमस्कार छ । गाईका अंगमा चौध भुवन हुन्छन् । गाईको शरीरमा सबै देवीदेवता, ब्रह्मा, विष्णु, महेवश्वर सबै भगवान्को बास हुन्छ । त्यस कारण श्री तोयनाथले गर्नुभएको गाईको सेवा यस लोक र परलोकमा कल्याणका निम्ति मार्ग प्रशस्त गथ्र्याे । (महाभा अनु ७८।२३।१४)

गाबो मामुपतिष्ठन्तु हेमश्रङ्ग्यः पयोमुचः ।
सुरभ्यः सौरभेश्यश्च सरितः सागरं यथा ।।
गा वै पश्चाश्खहं नित्यं गावः पश्यन्तुमा सदा ।
गावोऽस्माकं व तासां यतो गावस्ततो वयम् ।।

म सदा गौ को सेवा दर्शन पूजन गर्न पाऊँ मलाई कृपादृष्टि गर्न । गाई सेवा नै जीवन हो । जहाँ गाई छिन्, म पनि त्यहीँ छु । गाईको सेवा, अर्चना नै जीवन हो, भनिएको छ । गो सेवामा श्री उपाध्यायले ठूलो योगदान गर्नुभएको छ । यसरी उहाँले गाईको सेवा गर्नुहुन्थ्यो ।

यथा सर्वमिदं व्याप्तं जगत् स्थावर जंगमम् ।
ताँ धेनुं शिरसा बन्दे भूतभव्यस्य मातरम् ।। (महा– अनु–८०।१५)

जस्ता प्रकारले गौ सेवा नै स्थावरजंगम अखिल विश्व व्याप्त छ । भूत र भविष्यको जननी गाईको सेवा नै उत्तम हो । म गो सेवामा तल्लीन भई प्रणाम गर्छु ।
शास्त्रमा गाईलाई पवित्र र मंगलदायिनीको रूपमा मानेको छु । समस्त लोकतन्त्रलाई गाईले पवित्र पार्छिन्, त्यसैले गो सेवा गर्नुपर्छ भनिएको छ ।

गावः पवित्रा मांगल्या गोषुलोकाः प्रतिष्ठताः (अग्रि पुराण २९२)

उहाँले गौ सेवाबाट नै जीवनको उत्तम गति प्राप्त गर्न सकिन्छ भनी गो सेवामा लाग्नुभयो । गो सेवा उहाँका निम्ति जीवन उद्धारको मुख्य पाटो हुन पुग्यो । उहाँले भन्नुहुन्थ्यो, ‘भगवान्ले पनि गाईको सेवा गर्नुहुन्थ्यो, त्यसैबाट मुक्ति मिल्छ ।’
त्वं माता सर्ववेदनांत्वंच यज्ञस्यकारणम ।
त्वं तीर्थ सर्वतीथाना नमस्तेऽस्तु सदानधे ।
शशिसुर्यारुण यस्ताललाटे कृषभध्वजः ।
सरस्वती च हुंकारे सर्बे नागाश्च कम्बले ।।
क्षुरपृण्टेच गन्धर्वा बेदाश्चत्वार एवच
मुखाग्रे सर्वतीर्थानि स्थावराणि चराविच

–माता, यज्ञको करुणा, तीर्थ रूप ललाटमा चन्द्रमा, सूर्य शंकर हुंकारमा सरस्वती गलम्वमा नागगण खुरामा गन्धर्व चारैवेद मुखको अग्रभागमा चर र अचर तीर्थ विराजमान यस्ती गाईको सेवामा श्री उपाध्याय लाग्नुहुन्थ्यो ।
वास्तवमा उहाँ राजा दिलीपको गौ सेवाबाट पनि प्रभावित हुनुहुन्थ्यो । गाईको मूत्रबाट विभिन्न औषधि हुन्छ । जन्मदादेखि मृत्युपर्यन्त गाईको महत्व हुन्छ । हरेक धार्मिक कार्यमा गोमुत्र, दूध, दही घ्यू आवश्यक पर्छ । त्यस कारणले श्री तोयनाथ उपाध्यायले आफ्नो मृत्युको दिनमा पनि गाईको सेवा गर्नुभयो । जन्मेर खुट्टा टेक्ने भएदेखि सुरु गरेको गौ सेवालाई जीवनको अन्तिम दिन साँझसम्म गाईको सेवा गर्नुभयो । साँझपख गाईको सेवा गरेको ३ घण्टापछि उहाँको मृत्यु भयो ।

शिक्षादीक्षा
उहाँ गुरुकुलमा अध्ययन सनातन धर्म प्रचारप्रसार वरिष्ठ अधिवक्ता–स्व. मुकुन्द रेग्मीका अनुसार । उहाँ तोयनाथ संस्कृत भाषाको आन्दोलन चलाउनुहुन्थ्यो तर म अंग्रेजी भाषाको पक्षमा थिएँ । सँगैको स्कुलमा पाठ्यक्रम आन्दोलन चलिरहँदा उहाँ आफ्नो विचारमा अडिग हुनुहुन्थ्यो ।
आफ्ना पिता रामेश्वरबाट पनि दीक्षित हुनुहुन्थ्यो ।

धार्मिक मन्दिर निर्माण
शिव बद्रीनारायणको मन्दिर पर्वत ग्यादी कटुवा चौपारीमा गर्नुभयो । उहाँको परिवारबाट शिव बद्रीनारायण गुठी स्थापना र शिव मन्दिर उहाँले स्थापना गर्नुभयो । उहाँको पिताजीले शिव मन्दिर स्थापना गर्ने प्रतिज्ञा गर्नुभएकामा पिताजीको प्रतिज्ञा उहाँ जीवित रहँदै अधुुरो रहेकाले उहाँको शेषपछि, पुत्र तोयनाथले शिव मन्दिर निर्माण गरी पूरा गर्नुभयो । स्व. पं. नारायणप्रसाद पोखरेलको हत्या हुँदा साहै्र भावविभोर हुनुभयो । त्यही बेलादेखि स्वास्थ्यमा समेत खराबी देखिन थाल्यो र आफ्नै ज्येष्ठ सुुपुत्र युगनाथ शर्मा पौडेलको घरमा आउनुभयो । त्यही क्षणमा मथुरा वृन्दावन जाने योजनासमेत मलाई सुनाउनुभएको थियो । पछि आफ्नो जन्मभूमि छाडेर कहीँ नजाने प्रण गर्दै यही गृहस्थाश्रममैै देह त्याग गर्ने निर्णय गर्नुभयो ।
उहाँ अत्यन्त सरल र धार्मिक विशुद्ध मानिस हुनुहुन्थ्यो । समाजमा छिट्टै घुलमिल हुन सक्ने क्षमता उहाँसँग थियो । भगवान्को भक्त हुनुहुन्थ्यो । गौ सेवाबाट धार्मिक कार्यमा लागिरहने हुनुहुन्थ्यो ।
एकपटक वरिष्ठ पत्रकार एवं समाजसेवी युगनाथ शर्मा पौडेलका छोराको विवाह थियो, त्यही मौकामा उहाँसँग परिचय हुने मौका मिल्यो । छोटो समयमा उहाँबारे थाहा पाए मलाई धेरै खुसी लाग्यो । त्यही मौकामा उहाँसँग बसेर धार्मिक, सामाजिक र सेवामूलक कुराहरू राख्ने मौका पाए । मलाई धेरै खुसी लाग्यो । पछि (युगनाथ शर्मा) उहाँको छोराको घरमा ११ जना पण्डित लिएर धार्मिक कृत्य पनि गराएँ । त्यति बेलादेखि उहाँलाई चिन्ने धन्य म उहाँलाई चिन्ने र उहाँबारे लेख्ने मौका पाएँ म आभारी छु ।

सामाजिक काममा
बाटो, पुल, स्कुल, सम्बन्धमा बाबु रामेश्वर उपाध्यायले प्रारम्भ गरेको अधूरो काम पूरा गर्नुभयो । त्यसमा छोराबुहारी अन्यसमेत संलग्न भई सो काम पूरा गर्नुभयो । मोदीवेनी धाममा कालीगण्डकी र मोदी नदीको संगममा रहेको नृसिंहधामलाई एउटा पवित्र तीर्थस्थलको रूपमा विकास गर्न एउटा सक्रिय धर्म भिरुका रूपमा एउटा ठूलो यज्ञ सञ्चालन गर्न सहयोग गर्नुभएको थियो ।
कृषि कर्म
अन्नाद भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः
यज्ञाद् भवोति पर्जन्यो यज्ञ कर्मसमुद्भवः
(श्रमद्भगवत गीता अ–३।१४।

सबै प्राणी अन्नमा आश्रित हुन् । अन्न वर्षाबाट पैदा हुन्छ । यज्ञहरू सम्पन्न गर्नाले वर्षा हुन्छ र यज्ञ निर्धारित कर्मबाट पैदा हुन्छ भने हो उहाँ पृथ्वी माताको सेवाबाटै सबैको उद्धार हुन्छ भन्नुहुन्थ्यो । त्यसैले सबैले कृषिकर्म गर्नुपर्छ यसबाट काम र दाम दुवै मिल्छ भन्नुहुन्थ्यो ।
–अतः उहाँ असल कृषक र असल कर्मयोगी हुनुहुन्थ्यो । साथै गृहस्थाश्रमको नियम आचरण र सदाचारको अनुयायी असल गृहस्थन हुनुहुन्थ्यो । पवित्र भावना पवित्र विचारसमेत थियो ।
उहाँको निधन अन्तिम दिन नित्य कर्म सकेर राम गीत पठा गरी सुतेपछि उहाँले आफ्नी धर्मपत्नी दिलकुमारी पौडेललाई भन्नुभयो, ‘आफू सुतेको खाटको नजिकैको झ्यालबाट आकाशतर्फ हेर्दै आफूलाई लिन भगवान् आइपुगेको जानकारीसमेत दिनुभयो ।’ त्यसपछि पत्नी दिलकुमारी रुन थालेपछि उहाँले भन्नुभयो, ‘अब मलाई नरोक म जान्छु ।’ भन्दै आफूले हातमा लगाएको घडी र जनैको साँचो सुम्पिँदै दुवै छोरालाई तुरुन्तै बोलाइदेऊ, मलाई घरको तुलसीको मोठमा लगेर कामलोमा राखिदेऊ’ यसरी अन्तिम अवस्थामा उहाँद्वारा व्यक्त गरिएको यो अभिव्यक्ति महायोगेश्वरले व्यक्त गरेजस्तै देखिन्छ । भगवान्द्वारा उहाँलाई बोलाइयो र लोक धाममा लगियो । वास्तवमा उहाँ ८४ लाख योनिभन्दा माथि ब्रह्म साक्षात्कार गरिसक्नुभएको रहेछ । उहाँ ब्रह्मलीन हुनुअगाडि उहाँले व्यक्त गर्नुभएको वचनले जनाउँछ । यस्तो मृत्यु उत्तम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?