तोयनाथ स्मृति ग्रन्थ विमोचित


पर्वत, कुस्माः समाजका अगुवा कृषक समाज सेवी भक्तिमार्गका अनुकरणीय तपस्वी पुरुष ‘तोयनाथ स्मृति बार्षिक विशेषांक २०७४’ स्मृतिग्रन्थ विमोचित भएको छ । वि.सं. १९९० फागुन १९ गते जन्मनु भएको तोयनाथ जीको २०७३ पौष २५ गते ८३ वर्षको उमेरमा स्र्वारोहण भएको थियो । कुस्मा नगरपालिका ९ स्थित कटुवा चौपारी निवासमा आयोजित बार्षिकी पुजा अवसरमा दिवङ्गत उपाध्यायको धर्मपत्नी डिलकुमारी पौडेलले स्मृति ग्रन्थको विमोचन गर्नु भएको हो ।
सो अवसरमा नेपाली कांग्रेसका नेताहरु शुक्रराज शर्मा, नवराज गुरुङ, चुडामणी शर्मा, बसन्त सि.के., कुस्मा नगरपालिकाका नवनिर्वाचित मेयर रामचन्द्र जोशी, उपमेयर सीता काफ्ले लामिछाने लगायत स्थानीय समाजसेवी धार्मिक व्यक्तित्व नगरबासीहरुको ठूलो उपस्थिति थियो । तोयनाथ उपाध्याय जस्ता समाजमा अत्यन्त सम्मानित अनुकरणीय पुरुषको कर्म र चिन्तनलाई झल्काउने स्मृतिग्रन्थ प्रकाशित भएकोमा सबैले सह्राहना प्रकट गरेका थिए । सो अवसरमा स्मृति ग्रन्थ प्रकाशनका तर्फबाट ग्रन्थका सम्पादक जेठा छोरा युगनाथ शर्मा पौडेलले कर्मयोगी पिताजीका सम्पूर्ण जीवनका संघर्ष र तपस्या भल्किने जीवनी परक अर्को ग्रन्थ यथा समय प्रकाशित गरिने जानकारी दिनु भएको थियो ।
उल्लेखित स्मृतिग्रन्थमा तोयनाथजीका परिवार वृत, समाजमा सुपरिचित आफ्नो क्षेत्रका विज्ञ २९ जना महानुभावहरुले आ–आफ्ना संस्मरणहरु प्रकाशित गराउनु भएको छ । जुन स्मरणहरुबाट तोयनाथजीको जीवन संघर्ष र आध्यात्मिक तपस्या उपलब्धीको एकसरो झलक छर्लङ्ग हुन्छ । डिलकुमारी पौडेल, प्रताप शर्मा पौडेल, भगवती पौडेल, केशव दास बैरागी, गोपाल दास बैरागी, प्रेमनारायण शर्मा अधिकारी, होमबहादुर विश्वकर्मा, आचार्य तुलसीराम पौडेल, रेवतीरमण सुवेदी, रवि सापकोटा, विष्णुप्रसाद लामिछाने, लक्ष्मीरमण वन, भोला विश्वकर्मा, भूपति शर्मा उपाध्याय, दण्डपाणी शर्मा पौडेल, खेमराज शर्मा पौडेल, धनश्याम शर्मा लामिछाने, रामबहादुर नेपाली, शालिग्राम शर्मा पौडेल, रामशर्मा ढकाल, लेखनाथ सुवेदी, रामशर्मा लामिछाने, धनन्जय शर्मा, लोकनाथ आचार्य, खुमराज पराजुली, सुभद्रा पौडेल, भाष्कर पौडेल, युगनाथ शर्मा पौडेलका संस्मरण आलेखहरुले स्मृति ग्रन्थलाई पठनीय र संग्रहनीय बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?