इरानमा जारी प्रदर्शनमा २१ जनाको मृत्यु


तेहरान:इरानमा सोमबार रातभर जारी रहेको प्रदर्शनको क्रममा थप नौ जनाको मृत्यु भएको छ । इरानका सरकारी सञ्चारमाध्यमले मङ्गलबार सो जानकारी दिएका छन् ।
काहदेरिजान सहरमा रहेको प्रहरी चौकीमा ठूलो सङ्ख्यामा आएका प्रदर्शनकारी र सुरक्षाबलबीचको झडपको क्रममा छ प्रदर्शनकारीको मृत्यु भएको छ । सो सहरमा अवस्थित प्रहरी चौकीमा आक्रमणको शैलीमा आएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । इरानमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको सङ्ख्या विगत पाँच दिनमा २१ पुगेको छ । राष्ट्रपति हसन रौहानीले भने कानुन मिच्ने र विद्रोह गर्नेलाई इरानी जनताले राम्रैसँग प्रतिवाद गर्ने बताउनुभएको छ । मूल्य वृद्धिका विरुद्धमा गरिएको भनिएको सो प्रदर्शन हिंसात्मक हँुदै गएपछि हालसम्म २१ व्यक्तिको मृत्यु भएको र सयौँ प्रदर्शनकारी पक्राउ परेका छन् । प्रदर्शनकारीले देशमा आर्थिक समस्या थप जटिल बन्दै गएको र सरकारले त्यसलाई नियन्त्रणमा लिन नसकेको बताउँदै प्रदर्शन जारी राखेका बताइएको छ । इरानका राष्ट्रपति हसन रौहानी नेतृत्वको सरकारका विरुद्धमा विभिन्न सहरका ती प्रदर्शन लक्षित रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?