इन्धनको मूल्य वृद्धि फिर्ता लिन विद्यार्थी संगठनको आग्रह


काठमाडौँ: विभिन्न राजनीतिक दलका विद्यार्थी संघ संगठनले इन्धनको मूल्य तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा विद्यार्थी नेताहरुले १५ दिनमा दुई पटक मूल्य बढाएर सरकारले नकाम गरेको बताएका हुन् । साक्षात्कारमा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले मूल्यवृद्धिले जनता मारमा परेको भन्दै के आधारमा मूल्यवृद्धि भएको हो त्यो जनतालाई स्पष्ट गर्न माग गर्नुभयो । “सरकारले अन्तर्राष्ट्रियस्तरमा बढेको मूल्यवृद्धिका आधारमा बढाएको हो या अरु कुनै कारणले बढाएको हो, त्यो स्पष्ट हुनुपर्छ”– अध्यक्ष महरले भन्नुभयो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उपाध्यक्ष सुनिता बरालले इन्धनको मूल्यवृद्धि निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । उहाँले विद्यार्थी संगठन सामाजिक अभियन्ता भएको भन्दै सरकारले मूल्यवृद्धि गरेका कारण विद्यार्थी सडकमा उत्रिनु परेको स्पष्ट पार्नुभयो ।
अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए झन् सशक्त आन्दोलन गर्ने बताउनुभयो । “हामी सडकका आवाज हौँ, जनताको साथी हौँ, जनताको जीवनमा आइपर्ने असहजताको विरोधमा हामी जहिले पनि आवाज उठाउँछौँ”– उहाँले भन्नुभयो ।
राष्ट्रिय जनता पार्टी (राजपा) विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्रले इन्धनको मूल्य फिर्ता लिन आफ्नो विद्यार्थी संगठनले विज्ञप्ति जारी गरिसकेको बताउँदै दलीय स्वार्थका आधारमा आफूहरु आन्दोलनमा नजाने स्पष्ट गर्नुभयो ।
समाजवादी विद्यार्थी फोरमका अध्यक्ष विवेक राईले मूल्यवृद्धिको असर विद्यार्थीमा पर्ने भन्दै तत्काल निर्णय फिर्ता लिन सरकारसँग माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?