करेन्ट लागेर मजदुरको मृत्यु


तिलोत्तमा, रुपन्देही: घरको छत ढलाइको काम गर्ने क्रममा करेन्ट लागेर रुपन्देहीको सैनामैना– १० झिमझिमिया निवासी ३५ वर्षीय भिक्खु थारुको मृत्यु भएको छ ।
आज दिउँसो झिमझिमिया चोकमा घरको छतमा रहेको फलामको छडलाई मोड्ने क्रममा विद्युत्को तारमा छुँदा भिक्खु गम्भीर घाइते भएकाले उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
काम गर्ने क्रममा उनीसँगै रहेका अरु तीन जना घाइते भएको र उनीहरुको अवस्था भने सामान्य रहेको छ ।
भिक्खु थारुको श्रीमती कमला थारु पनि मजदुरी गर्दछिन् । परिवारमा खान खर्च जुटाउने हात हराएपछि ती परिवारको अवस्था चिन्ताजनक बनेको छ ।
आर्थिकस्तर कमजोर भएको यस परिवारमा भर्खर विद्यालय जान शुरु गरेका दुई छोरा र एक छोरी रहेका छन् । श्रीमान्को निधनपछि छोराछोरीको लालनपालनमै समस्या हुने अवस्था आएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?