चिसोबाट बच्न नेपालगन्जमा दाउरा वितरण


खजुरा, बाँके: शीतलहर र अत्यधिक चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
विगत केही दिनदेखि हुस्सु र कुहिरोसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि नगरका विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको हो । वडाध्यक्षहरुको समन्वयमा नेपालगन्जको त्रिभुवनचोक, धम्वोझीचोक, बागेश्वरी मन्दिर, महेन्द्रपार्कलगायत ११ स्थानमा दाउरा वितरण गरी आगो बाल्ने व्यवस्था मिलाइएको उपमहानगरपलिकाका सूचना अधिकारी शरद पौडेलले बताउनुभयो ।
उहाँका अनुसार जिल्ला वन पैदावर आपूर्ति समितिबाट दाउरा खरिद गरी जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा दुई चट्टा दाउरा वितरण गरिएको छ । नगरका केही स्थानमा आज पनि दाउरा वितरण गरिनेछ । उपमहानगरपालिकाले विशेषगरी गरिब, असहाय, वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो बनाउनका लागि आगो ताप्ने व्यवस्था मिलाएको हो । चिसो र शीतलहरले गरिब, असहाय, वृद्धवृद्धा, बालबालिका र मजदुरी गर्नेहरु बढी कष्ट सहनुपरेको छ । चिसोले जिल्लाको जनजीवन दिनदिनै कष्टकर बन्दै गएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?