प्रदेशको राजधानी माग गर्दै विभिन्न ठाउँमा विरोध र प्रदर्शन


काठमाडौंः देशका विभिन्न स्थानमा प्रदेश राजधानीको माग गर्दै त्यस क्षेत्रका सर्वसाधारणहरु विरोधमा उत्रिएका छन् । प्रदेश १ को राजधानी धनकुटा बनाउनु पर्ने भन्दै त्यहाँका बासिन्दाहरु आम हड्तालमा उत्रिएका छन् । त्यस्तै १ कै राजधानी बनाउने पर्ने माग धरानले पनि राखेको छ । त्यस्तै प्रदेश ५ को राजधानी रुपन्देहीलाई बनाउनु पर्ने माग राख्दै त्यहाँका बासिन्दाले पनि प्रर्दशन गरिरहेका छन् ।
हामीलाई धनकुटाबाट प्राप्त समाचारअनुसार प्रदेश नं १ को अस्थायी राजधानी धनकुटा तोक्न माग गर्दै यहाँ स्थानीयवासीले आमहडताल शुरु गरेका छन् । हडतालका कारण धनकुटा सदरमुकाममा बिहानदेखि बजार बन्द रहेको छ । धरान–धनकुटा–कोशी राजमार्गमा सवारी साधन गुड्न सकेका छैनन् । कोशी राजमार्गको धरान–धनकुटा खण्ड भएर पहाडी जिल्लातर्फ सञ्चालन हुने सवारी साधन नगुडेर धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले राजमार्गको धनकुटा खण्डमा टायर बालेर सवारी साधन रोकेपछि धरानबाट विभिन्न जिल्लातर्फ जान हिँडेका सयौँ सवारी साधन धनकुटा पात्लेखोलामा रोकिएपछि यात्रुहरु अलपत्र भएका छन् । बन्दमा एम्बुलेन्स, प्रेस, विद्यालयका गाडीका साथै दूध र तरकारी बोकेको गाडी चलेका छन् ।
पर्याप्त भौतिक पूर्वाधार र जग्गा भएकाले साविकको पूर्वाञ्चल विकास क्षेत्रको समदरमुकाम समेत रहेकाले धनकुटालाई राजधानी बनाउनुपर्ने उनीहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?