विद्युत् महसुल नबुझाउने ४० ग्राहकको लाइन काटियो


लहान: विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महसुल नबुझाउने ४० जना सेवाग्राहीको विद्युत् लाइन काटेको छ ।
बक्यौता विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन अभियान शुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले एक साताको अवधिमा ४० जना ग्राहकको लाइन काटेको हो ।
विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले रु ५० हजारभन्दा बढी बक्यौता बाँकी रहेका २२० जना ग्राहकको विद्युत् लाइन काट्न शुरु गरेका हुन् ।
विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटकपटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुदेव यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा लामो समयदेखि बक्यौता रकम नबुझाउने ३ फेजका २२० जना ग्राहकको विद्युत् लाइन काटिने छ ।
ग्राहकबाट विद्युत् महसुलबापत करिब रु तीन करोडभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानमा ४५ हजार ग्राहक रहेका छन् । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?