उहाँले भन्नुभयो “मलाई भगवान् लिन आउनुभो”


डिलकुमारी पौडेल
पौष २५ २०७३ को त्यो दिन बिहानदेखि नै नयाँ घरको काममा व्यस्त हुनुहुन्थ्यो । हरेक दिनजस्तो नित्यकर्मपछि दैनिक कार्यमै रहनुभएको थियो । आफूलाई कुनै अप्ठ्यारो भएको बताउनुभएको थिएन । आठ बजे बिहानदेखि नै नयाँ घरको ढुंगा पन्छाउन व्यस्त हुनुहुन्थ्यो । त्यो दिन बेलुका लगभग ९ बजे माथि कोठामा सुत्न गएपछि केही समय नियमित गर्ने पाठ गर्नुभयो । नियमित पाठ गरेपछि भजन गर्नुभयो । त्यो भजन ‘हरेराम हरेराम राम राम हरेहरे, हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरेहरे’ हामी दुवैले गायौं ।
त्यसपछि दुवैले भजन गाइरहँदा त्यो दिन उहाँले भन्नुभयो अरू दिन मेरो स्वर राम्रो हुन्थ्यो आज मेरो भन्दा तिम्रो स्वर राम्रो भयो । त्यसपछि केही समय विश्राम गर्नुभयो । त्यो बेला लगभग बेलुकी ११ बजेको समय कटिसकेको हुनुपर्छ । तर, म निदाएकी थिइन् लगभग आधा घन्टा पछि ब्युँझनुभयो । त्यसपछि ब्यँुझिएर तातोपानी खान्छु भन्नुभयो । त्यसपछि बुहारी भगवतीलाई तातोपानी तताउन उठाएँ र उसले ल्याएको तातोपानी खानुभयो । त्यसपछि भगवतीलाई औषधि ल्याउन भन्नुभयो र भगवतीले औषधि ल्याइन् तर उहाँले औषधिको चक्की निल्न सक्दिनँ भनेपछि भगवतीले फिटेर ख्वाइन् । त्यो समय नै उहाँको पानी निल्ने अन्तिम समयजस्तो भयो भगवती र मैले मुखमा पानी खुवायौं । त्यतिबेला भगवतीले अच्युत नातिसँग कुरा गराइन् धेरै बोल्न नसकेपछि नातिले त्यहाँको कुरा सुनिरहेको थियो अनि नातिले लक्ष्मी दिदीलाई बोलाएर मुटुको धड्कन र प्रेसर हेर्नुस् भन्यो ।
त्यसपछि दिसा–पिसाब गर्नुभयो । अनुहारमा चमक देखिएको थियो । कुनै मलिनता थिएन अनुहारमा । जब बिछ्यौनामा फेरि फर्कनुभयो त्यसपछि आफूले जनैमा राखेको साँचो मलाई खोल्न भन्नुभयो, मैले खोल्न नसकेपछि आफैं खोलेर दिनुभयो र आफूूले लगाएको घडी फुकाल्न भन्नुभयो तर घडी मैले निकाल्न सकिनँ । त्यसपछि भन्नुभयो, ‘मलाई भगवान लिन आउनुभयो’ अब म जान्छु भन्दै झ्यालतिर हेर्न इशारा गर्नुभयो । बुहारीहरू लक्ष्मी छोरी लिन गएका थिए, त्यो समयमै आफू जाने कुरा गर्नुभयो । त्यतिबेला उहाँले भन्नुभयो, ‘मलाई अब खाटमा सुत्नु छैन, मलाई तुलसीको मठनेर काम्लो ओछ्याएर एउटा च्यादर ओढाइदिनूू छोरा, नातिहरूलाई बोलाइदिनूू भन्नुभयो । त्यसपछि मेरो मुखबाट टीकाराम ! टीकाराम ! भन्ने आवाज निस्किएपछि टीकाराम र सूर्य (बाबु÷छोरा) आइपुगे र त्यसपछि सूर्य भतिजो र दुर्गा भाइ आइपुगे । त्यतिबेलासम्म पूरा होसमै उहाँले यी कुरा भनिरहनुभएको थियो ।
त्यतिबेला नै लक्ष्मी छोरी आइन् र अच्युत नातिलाई अवस्था अत्यन्त कठिन भएको बताइन् । उहाँको इच्छा अस्पताल जाने थिएन तर नातिले कुस्माबाट अक्सिजनमा पोखरा, त्यसपछि काठमाडौं ल्याउने निर्णय गरेपछि उहाँलाई सबैले कुस्मा अस्पताल लगे तर मैले सुनेअनुसार नदीको बीचमै उहाँको प्राण त्याग भयो ।
धर्म कर्ममा उहाँको धेरै रुचि थियो । भजन–कीर्तनमा यति व्यस्त हुनुहुन्थ्यो कि ठूलो छोरा युगनाथको जन्म भएको छैटौं दिनमा भजन–कीर्तन छाडेर छैठी गर्न आउनुभएको थियो । भजन–कीर्तन भनेपछि सबै कुरा विर्सने गर्नुहुन्थ्यो । मोदीवेणीबारे धेरै रुचि थियो मोदीवेणीमा गौशाला, कालीगण्डकीमा पुल, १०८ धारा, पहरामा ध्यान केन्द्र बनाउने कुरा गरिरहनुहुन्थ्यो । शिव मन्दिरको जीर्णोद्धार काम बाँकी छ भन्नुहुन्थ्यो । त्यो नै उहाँको अन्तिम इच्छा थियो । ‘मलाई भगवानले लिनु आउनु भयो’ भन्दै हामीबाट विदा हुनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?