सहुलियत दरमा काठ लिन आवेदन दिनेको संख्या बढ्दो


काठमाडौँ: जिल्ला वन कार्यालय काठमाडौँमा भूकम्पबाट भत्केको घरको पुनःनिर्माणका लागि आवश्यक पर्ने काठ लिनका लागि आवेदन दिनेको संख्या बढेको छ ।
भूकम्पबाट क्षति पुगेका घरको पुनःनिर्माणका लागि चाहिने काठ सरकारले सहुलियत दरमा उपलब्ध गराउने घोषणा गरेसँगै जिल्ला वन कार्यालयमा आवेदन दिनेको संख्या बढेको हो ।
असार ९ गतेदेखि आवेदन लिन शुरु गरेको जिल्ला वन कार्यालय काठमाडौँमा हालसम्म ४२१ जनाको निवेदन परेको कार्यालयका सूचना अधिकारी गुरुप्रसाद दाहालले जानकारी दिनुभयो ।
“दैनिक तीन÷चारजना आउने गरेकामा अहिले दैनिक आठ÷दशजना मानिस काठ मागका लागि कार्यालय आउने गरेका छन्”, उहाँले भन्नुभयो ।
जिल्ला वन कार्यालयमा भूकम्पले क्षति पु¥याएको घर पुनःनिर्माणका लागि काठ नभएपछि जनताले दिएको निवेदन वन कार्यालयले काठमाडौँका प्रमुख जिल्ला अधिकारीको रोहवरमा द टिम्बर कर्पोरेशन लिमिटेडमा पठाउने गरेको छ । कार्यालयमा आएको निवेदन संकलन गरेर १५÷१५ दिनमा टिम्बर कर्पोरेशनलाई पठाउने गरेको दाहालले बताउनुभयो ।
काठ लिन नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, भूकम्पपीडित परिचयपत्र, पुनःनिर्माणसँग भएको आवास पुनःनिर्माण सम्झौताको प्रतिलिपि, जग्गाधनीको प्रमाणपुर्जा प्रतिलिपि, भवन निर्माण इजाजत प्रतिलिपि र नक्सा पेश गर्नुपर्ने हुन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?