कुखुराको खोरमा आगलागी


रत्ननगर, चितवन: चितवनको भरतपुर महानगरपालिका–२० स्थित धननाथ ढकालको कुखुराको खोरमा आज बिहान आगलागी भएको छ ।
आज बिहान ३ः३० बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदै खोरभित्र रहेका ५०० वटा कुखुराका चल्लासहित रु पाँच लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सो क्रममा कुखुराका चल्ला ५०० वटा, दाना तीन बोरा, तोरी तीन बोरा, राज्मा एक बोरा, काठ तथा खोरलगायत गरेर रु पाँच लाखको क्षति अनुमान गरिएको प्रहरीले जनाएको छ ।
स्थानियको सहयोगमा प्रहरीले रातीनै आगो निभाएको चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिनुभयो ।

आगोले जलेर गम्भीर 
यता भरतपुरस्थित गौरीगञ्जमा आगोताप्ने क्रममा जलेर एक वृद्धा गम्भीर घाइते भएकी छिन् । स्थानीय ९१ वर्षीया नन्दकुमारी पौडेल आगोले जलेर गम्भीर भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार आफ्नै घर अगाडि जाडो छल्न आगो ताप्ने क्रममा पौडेललाई एक्कासि आगो सल्किएको थियो । उनको शरीरका विभिन्न भागमा आगोले जलेको छ । अहिले उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जाडोका कारण स्थानीय चितवनका विभिन्न क्षेत्रको चोक चौतारो र घर आँगनमा आगो बालेर ताप्ने गरेका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाले यसरी आगो ताप्दा ज्यान कै जोखिम हुने र आगलागीसमेत हुनसक्ने भएकाले सचेत हुन सबैमा आग्रह गर्नुभएको छ ।  (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?