आगलागी हुँदा नौ लाखको क्षति


मंगलबारे, इलाम: इलामको पर्यटकीय क्षेत्र श्री अन्तुमा सञ्चालित ‘अन्तु कटेज’ मा आगलागी भएको छ । सूर्योदय नगरपालिका–४ मा रहेको कटेजमा आज बिहान करिब ५ बजे आगलागी भएको हो । आगलागीबाट कटेजको गोदाम कोठा र बार पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ । के कारणले आगलागी भएको भन्ने विषयमा अझै खुल्न सकेको छैन । सञ्चालक धरणी घिमिरेले भन्नुभयो, “विद्युत् चुहावट भएर पनि होइन, आगो बालिएको पनि छैन खै कसरी आगो लाग्यो रहस्यकै विषय बनेको छ ।”
आगलागीका विषयमा अनुसन्धान भइरहेको अन्तु प्रहरी चौकीका प्रमुख विमलकुमार निरौलाले जानकारी दिनुभयो । आगलागीबाट करिब रु नौ लाख ५० हजार मूल्यबराबरको क्षति भएको सञ्चालक घिमिरेले बताउनुभयो ।
स्टोर रुमसहित बार भवनसमेत जल्दा त्यहाँ राखिएका खाद्यान्न, पेय पदार्थ, लत्ताकपडालगायत सामग्री जलेर क्षति भएको उहाँले बताउनुभयो । आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगपछि त्यहाँ सञ्चालित लज भने जोगिएका छन् । अन्तु कटेज इलाकामा धरणी घिमिरे, कमल घिमिरे, राजन ताम्राकार, कुमार श्रेष्ठ र हेमसागर पौडेलले सञ्चालन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?