कांग्रेसलाई पराजय ‘गड–गिफ्ट’


रेवतीरमण सुवेदी
नेपाली कांग्रेसमा एकजना धाघडान विद्वान नेता हुनुहुन्छ प्रदीप गिरि । पंक्तिकारको त उहाँ वि.सं. २०२९ सालदेखि सहयात्री सह्दयी मित्र हुनुहुन्छ । ७० पुग्नु भएको ४÷५ वर्ष जेल बस्नु भएको जेल बसाइका हिसाबले म उहाँभन्दा जेठो भए पनि उमेरले पढाइले अग्रज र आदारणीय हुनुहुन्छ । सेलीब्रेटी पनि खुब हुनुहुन्छ । तर ऋषि धमला र विजयकुमार पाण्डेको जस्तो मात्र होइन । कुनै समय ऋषीकेश शाह र यदुनाथ खनालको जस्तो अहिले उहाँको सेलिबे्रटी व्यक्तित्व छ । नेपालका सारा राजनीतिक कर्मीले उहाँलाई अत्यन्त आदर सम्मानका दृष्टिले हेर्छन र उहाँले भनेका कुरालाई व्यवहारमा उतार्न नसके पनि मनमा भने ठिक कुरो हो भन्ने अवश्यक राखेका हुन्छन् । कांग्रेस भित्रको त उहाँ एक्का विद्वान भइहाल्नु भयो । धान र मकै खेतीको फरक थाहा नपाएका अर्थशास्त्री भनेर डा. रामशरण र महेश आचार्यलाई नामै किटेर भनिदिएका कारण ती दुईजना उहाँसँग रिसाएका भए पनि अरु कांग्रेसीजनहरु शेरबहादुर, रामचन्द्र, बलबहादुरदेखि चन्द्रभण्डारी, धर्मराज गुरुङ, नवराज गुरुङ, विश्वप्रकाश शर्मा गगन थापासम्म आदि इत्यादि पूर्व मेचीदेखि पश्चिमी महाकालीसम्मका सबै नगरपालिका प्रान्तीयस्तरका नेतृत्वले उहाँलाई प्रतिरोधविहीन मान्दछन् । पत्रकार जगत त उहाँ प्रति रानोमा मौरी झुम्भीए झै झुम्मिन्छन् । त्यसै कारण नै ०४६ साल यता मुलुकमा त्यत्रो माओवादी जन्माउने स्तरको लुटतन्त्र मच्चिएर त्यसमा सारा अहिलेका प्रचण्डसम्म हिलोमा मुद्दिएर कुरुप देखिदासम्म उहाँको छवि अझैसम्म सफा र स्वच्छ देखिन्छ । कतै कुनै अवगाल दाग छैन । जब की ०५१ को मध्यावधि यताका एक पटक वाहेक सबै चुनावमा सांसद सभासद हुनु भएको छ । यस पटक पनि त्यत्रो एमालेको अन्धोराष्ट्रवादको (कुनै पनि राष्ट्रवादको आँखा हुँदैन) लहर चलेका बेलामा पनि सिराहाबाट चुनाव जितेर आउनु भएको छ ।
नेपाली कांग्रेसलाई काम लाग्ने प्रदीपजीका धेरै विशेषताहरु छन् । सबैभन्दा ठूलो विशेषता उहाँको राजनीतिक संस्कार सवल छ । उहाँका पिताजी मित्रलाल गिरिजी २०१२ सालको कांग्रेस महाधिवेशनको निर्वाचित केन्द्रीय सदस्य हुनुहुन्थ्यो । त्यस क्षेत्रको संगठनमा वी.पी. उहाँकै सल्लाहमा हिड्नु हुन्थ्यो । नेपाली काग्रेसका संस्थापक उदयपुर कब्जा गर्ने २००७ सालको क्रान्तिका कृष्णप्रसाद भट्टराईका दाइना हात रुद्रप्रसाद गिरि प्रदीपजीका सहोदर काका हुनु भएपछि राजनीतिक संस्कारमा कुनै कमी भएन । उहाँको अध्ययनशीलता केटा केटी उमेर बाटै पिताजीको ठूलो खाटको आडमा लुकेर झ्यालनेर आशन जमाएर रामायण महाभारत पढ्ने गरेको देखिनै हो । त्यसपछि उहाँ अध्यनार्थ बनारस पुग्नुभयो र वी.पी. डा. राममनोहर लोहियाको संगतमा पर्नु भयो । वी.पी.को सशस्त्र क्रान्तिको कालखण्डमा उहाँ दाहिना हात जस्ता रहनु भएको पंक्तिकार साक्षात्कार साक्षी छ । लोहिया विचारबाट प्रभावित भएर प्रजातान्त्रिक समाजवादी युवा दल खोलेर संगठनकै क्रममा गिरफ्तार भएर तीन चार वर्ष जेल परेर कृष्णप्रसाद भट्टराईको संगत पाइसकेपछि पूर्वकालिन राजनीति स्वाभाविक भयो ।
प्रदीप गिरिजीका बारेमा यहाँ यति चर्चा किन अघि सारिएको हो भने नेपाली कांग्रेसभित्र यतिखेर दुइटा काम अत्यन्त तिब्रगतिमा भइरहेका छन् । (१) चुनावमा पराजयको समिक्षा र (२) नयाँ नेतृत्वको खोजी । नयाँ नेतृत्वको खोजीमा त एकथरीले गगन थापाको नाम समेत अघि सारेका पाइयो । उता गिरिजा प्रसाद कोइराला भतिज शेखर कोइराला त अबको पार्टी सभापति म भनेर हिड्न थालिसकेका छन् । त्यसमा शेखर कोइराला र गगन थापा भन्दा प्रदीपजी उपयुक्त नाम हो भन्ने पंक्तिकारको प्रस्ताव हो । सभापति देउवाले पार्टी प्रवक्तामा विश्वप्रकाश शर्मालाई ल्याएको सहिद क्याप्टेन यज्ञबहादुर थापाका सुपुत्र आनन्द थापा जस्ता साथीहरुले राम्रो मान्नु भएको छ । आनन्द थापा जस्ता साथीहरुको मनको कुरा विश्वप्रकाश शर्मा जस्ता उदयमान नेतृत्वसम्म पनि पुगोस् भन्ने पनि यो लेखनको एउटा उद्देश्य हो । कांग्रेसको नयाँ नेतृत्वमा प्रदीप गिरिजीको नाम अधिसार्दा विश्व प्रकाशलाई अघि सार्दा जस्तो अधिराज्यका कांग्रेस जन हर्षित हुने छन् भन्ने हामीलाई विश्वास छ ।
अब अलिकति कांग्रेसभित्र तीब्र चलिरहेको चुनावी समीक्षाका बारेमा हामीलाई लागेका केही कुरा अघि सारेर यो आलेखलाई विटमार्छु । इमान्दारी पूर्वक न ढाटीकन भन्ने हो भने यस पटकको कांग्रेसलाई चुनावी पराजय ‘गड–गिफ्ट’ जस्तो भएको छ । भावी जीवन्तताका लागि भगवानको आर्शिवाद जस्तो । मलाई त त्यति थाहा पनि थिएन । ठूलाधरानिया मिडियामा खुब आउन थालेपछि मात्रै थाहा पाएको हुँ । अचेल भरी देउवा दरबारमा आरजु राणालाई ‘महारानी’ सम्बोधन गर्न थलिएको रहेछ । महारानी हजुर भन्दा भटाभट मन्त्रीपद बार्षिन थालेपछि त्यसमा होड चल्ने स्वाभाविक भइ हाल्यो । देउवालाई पनि यसमा खासै सरोकार किन भएन भने पत्नी ‘महारानी’ हुँदा आफू ‘राजा’ हुन पाइयो । यहाँ सम्मत कुरो ठिकै थियो । तर जब चुनावमा प्रत्यक्ष तर्फ कांग्रेस न राम्रो सँग पच्छारियो त हिजो तिनै आरजुलाई ‘महारानी’ सम्बोधन गर्नेहरु नै उनकै हुकुमी शैलीका कारण हारियो भनिरहेका भेटिदै छन् । यो त अत्यन्तै नालायक र कामचोर चुनावी समिक्षा भयो । यस्ता नेतृत्वलाई सुध्रिने अवसरका रुपमा नै पराजयलाई ‘गड–गिफ्ट’ भनेको हुँ ।
अन्त्यमा हाल सालै सहिद पुत्र तीनवटा विषयका डिग्रीधारी विद्वान राजनीतिक योद्धा आनन्द थापाजीको गोरखापत्रमा एउटा लेख पढेको थिएँ । त्यहाँ उहाँले लेख्नु भएको छ–‘पार्टीलाई विर्ता, जमिन्दारी, प्राइभेट लिमिटेड र जगिर जस्तो गरेर चलाइरहेका ठसठसी गन्हाएका नेताहरु चुनाव हारे भन्दैमा कांग्रेसनै सकिएको कसैले न ठानोस्’ थापाजीको लेख ‘वामगठबन्धन’ प्रति लक्षित थियो । त्योभन्दा पनि अझ महत्वपूर्ण कांग्रेसभित्रको चुनावी समिक्षा अभियानलाई एउटा ठीक दिशा संकेत हो । मुख्य कुरो प्राण गएको मानिस र विचार हराएको पार्टी उस्तै हो । लासको प्रकृति के हुन्छ भने त्यसको समयमै अन्त्यष्ठि भएन भने कुहिन्छ, गन्हाउछ र रोग फैल्याउँछ । यतिखेर हामीहरु जस्ता कांग्रेसीहरु महादेवले सतिदेवीको लास बोक्नु भएको जस्तो अभिषप्त भएका छौं । सर्वप्रथम कांग्रेसमा विचारको प्राण प्रतिष्ठा गर्नु आवश्यक भएको छ । अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?