बुबाका आखिरी क्षणहरू


भगवती पौडेल
यस्तै ६/७ महिना पहिलेको कुरा हो । बुबाको मुटुको अप्रेसन गर्ने कुरो थियो । घरमा दुई वटा नाति डाक्टर थिए । उनीहरूको पनि अप्रेसन गर्नै पर्छ भन्ने सल्लाह थियो ।
तर, बुबा भने कुनै हालतमा अप्रेसन गर्ने पक्षमा हुनुहुन्नथ्यो । पछि गंगालाल अस्पतालले अप्रेसन गर्नु जोखिमपूर्ण हुने भनेर अप्रेसन गर्नुु नपर्ने भएपछि बुबा निकै खुसी हुनुभएको थियो । अप्रेसन गरे पनि नगरे पनि आफ्नो जीवन अब अन्त्यतिर आइपुग्न थालेको सायद बुबालाई त्यस बखत नै आभास भइसकेको थियो ।
अप्रेसन गर्नु नपर्ने भएपछि बुबा घर फर्किन हतार गर्न थाल्नुभयो । मलाई भन्नुभयो, ‘तिमी केही दिन माइतमा बिताएर ६÷७ महिना बस्ने गरी घर हिँड ।’ मैले त्यसै गरेँ । तिहारदेखि दसैंसम्म माइतमा बसेर घर आएँ । बुबाको मृत्युपर्यन्त उहाँकै सेवा, टहल गरेर बिताउने अवसर पाएँ । त्यसबखत मलाई गाउँलेले काठमाडौं कि बुहारी यसरी ढुक्कले घर किन बसिरहेकी छ भनेर कुरा पनि काटेका थिए । त्यस्ता कुरा काट्नेलाई आफ्नो घर किन नबस्ने भनेर जवाफ दिन्थेँ । बुबाले भनेर भन्ने कुरा हुन्नथ्यो । तर, बुबाले आफ्ना अन्तिम दिनमा मलाई साथै राख्ने विचार लिनुभएको रहेछ जुन मलाई कुनै अन्दाज थिएन । मलाई पिताजी खुबै स्नेह गर्नुहुन्थ्यो । धन्धा नमान बुहारी अझै म दुई÷चार वर्ष बाँच्छु र सबै बन्दोबस्त मिलाएर मात्र जान्छु, भन्नुहुन्थ्यो । दिनहरू आनन्दपूर्वक नै बितिरहेका थिए ।
बुबाको सिद्धान्त खाली हात बस्नुहुन्न, केही न केही परिश्रम गरिरहनुपर्छ भन्ने थियो । त्यसदिन २५ गतेको बिहान ८ बजे पटाइ चिन्न थाल्नुभयो । ढुंगाको ठूलो थुप्रो पन्छाउनुपर्ने थियो । बुबा तपार्इं ढुंगा पन्छाउनेतिर नलाग्नुहोस् । हामी गर्छौं । बूढो शरीर तपाईंलाई सकस हुन्छ भनँे । तर, उहाँले मान्ने कुरा थिएन । दुई बजेसम्म भोक–तिर्खा नभनी काम गरिरहनुभयो । मैले अलि रिसाएर र आमालाई पनि भनेर खाना खान बोलाएँ । खान बस्नु मात्र भयो । घाँटीबाट निलिएन । त्यसपछि चुठेर चिसै हात फेरि पटाह चिर्न थाल्नुभयो । मलाई मकै नंग्याउन अह्राउनुभयो । बीचमा दुई पटक कफी र एक पटक चिया बनाएर पु¥याएँ । त्यस्तै हुँदै बेलुकाको ७ बजिसकेको थियो । पुसको महिना जाडो र माछापुच्छ«ेको सिरेटो कडा थियो । हातखुट्टा धुन पानी तताइदिएँ । तातो दूध पिउन आग्रह गरँे । पहिले–पहिले कहिल्यै पनि त्यसरी दूध पिउन मान्नुहुन्नथ्यो । तर, त्यसदिन पिउनुभयो । आगो ताप्ने ठाउँ बनाइदिएँ । भात खाने कि रोटी भनेर सोधेँ । तरकारी खाने पनि इच्छा गर्नुभएन । छोपसँग चोबेर मुस्किलले दुई वटा रोटी खानुभयो ।
यस्तै गर्दा गर्दै रातिको नौ बजिसकेको थियो । त्यो दिन खाना खानुअघि दैनिक साँझ पूजामा एउटा अनौठो कुरा भएको थियो । उहाँको पूजा गर्दा लगातार २० मिनेटसम्म अत्यन्त सुमधुर ध्वनिको शंख फुक्नुभएको थियो । बुबालाई के रौस भएर यसरी एकोहोरो शंख फुकिरहनुभएको होला भनेर मनमनै कुरा पनि खेलाएकी थिएँ । किनभने, त्यसअघि कहिल्यै पनि त्यसरी शंख फुक्ने गर्नुभएको थिएन । धेरैभन्दा धेरै तीन÷चार मिनेट फुक्नुुहुन्थ्यो । उहाँको जाने समय दैलोमै आइसकेको रहेछ र पो त्यसरी एकोहोरो २० मिनेटसम्म शंख बजाएर देउताको पुकार गर्नुभएको रहेछ भन्ने अहिले आएर आन्दाज हुन्छ ।
बुबाले सुत्ने बेलामा हट ब्यागले पेट सेक्ने गर्नुहुन्थ्यो । त्यो तयार गरिदिएँ । आमाले तातो तेलले पइताला सेकिदिनुभयो । १० बजे ओछ्यानमा पुग्नुभएको ११ बजेसम्म पुस्तक पढ्ने र भजन गाउने गर्नुभयो । त्यो उहाँको नियमित रुटिनजस्तै थियो । ११ बजेसम्म पनि नसुत्नुभएपछि मैले हल्ला गरेर आमालाई समेत पुकारेर अब सुत्नलाई भनँे । त्यसदिन खाना खाएर सुत्ने बेलामा बुबाले एउटा कुरा भन्नुभएको थियो । आज मैले यति धेरै काम गरेको छु कि आज पनि बाँचेँ भने दुई÷चार वर्ष मलाई केही हुन्न । त्यसोभन्दा आज जान्छु नै होला भन्ने संकेत भइसकेको रहेछ । १२ बजेतिर उहाँलाई असाध्य खोकी लाग्यो । आमा केही अत्तालिएजस्तो हुनुभयो । तातोपानी ल्याऊ बुहारी भन्नुभयो । बुबा एकदम अस्तव्यस्त जस्तो हुनुभएको थियो । छोराहरूलाई खबर गर भन्नुभयो । मेरा श्रीमान्को फोन लागेन । छोरासँग सम्पर्क भयो । अक्सिजनको अभाव हुन सक्छ, तुरुन्त कुस्मा पु¥याएर त्यसपछि काठमाडौं ल्याउनूू भन्यो । म लक्ष्मी दिदीलाई बोलाउन गएका बखत टीकारामहरू जम्मा भइसकेका रहेछन् । हतारहतार गरेर कुस्मा लिएर गइयो । तर, कुस्मा पुग्नुअघि बाटोमै बुबाले प्राण छाडिसक्नुभएको रहेछ । मैले बुबाको आखिरी क्षणमा सेवासुश्रुसा गर्न पाएकीमा आफूलाई भाग्यमानी ठानेकी छु ।

(साभारः तोयनाथ बार्षिक विशेषांकबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?