पुनःस्थापना गृह निर्माणमा सहयोग


इटहरी: धरान पुनःस्थापना गृहको जीर्ण बासस्थान टहरामा दुःखपूर्वक बसोबास गर्दै आएका २८ जना अशक्त, असहाय वृद्ध र बालबालिकाको दयनीय अवस्थालाई देखेर धरानकी मोडल तथा रेडियोकर्मी मेरिना तुम्साले घर निर्माणका लागि सहयोग गर्नुभएको छ ।
उहाँले हालै पुनःस्थापना गृहमा पुगेर आफूले आर्जन गरेको रु ५० हजार बराबरको सामग्री गृह सञ्चालन गर्दै आउनुभएका समाजसेवीलाई प्रदान गर्नुभयो । एक महिनाअघि काठमाडौँमा सम्पन्न मिस नेस्नल आइकन प्रतियोगितामा फस्ट रनर अप उपाधिसँगै प्राप्त गर्नुभएको नगद ५० हजार पुरस्कार मेरिनाले पुनःस्थापना गृहको जीर्णोद्धारका लागि प्रदान गर्नुभएको हो ।
धरान उपमहानगरपालिका–१ छाताचोकस्थित पुनःस्थापना गृहको जीर्ण टहरामा डेढ दशकदेखि पूर्वका विभिन्न जिल्लाबाट शरण खोज्दै आएका असहाय अशक्त बस्दै आएका छन् । उनीहरुका लागि स्थायी रुपमा बस्न घर नभएकाले नवोदित गायक पर्वत पोर्तेलले ‘युवा हो केही त गरौँ’ नारा लिएर अभियान शुरु गरेपछि मोडल तुम्साले पहिलो पल्ट आर्थिक सहयोग गर्नुभएको हो ।
उहाँले दुःख बाँडे आधा र खुशी बाँडे दोब्बर हुन्छ भन्ने मान्यताका आधारमा आफूले फस्ट रनर अपको उपाधि पाएको खुशीमा पुनःस्थापना गृह निर्माणमा सहयोग गर्न प्रेरणा प्राप्त भएरै सहयोग उपलब्ध गरेकी हुँ भन्नुभयो ।
उक्त अवसरमा भर्खरै बेलायतबाट धरान घर आएकी समाजसेवी शर्मिला यक्सो चोङबाङले पनि नगद १० हजार बराबरको सामग्री पुनःस्थापना गृहलाई प्रदान गर्नुभयो ।
पुनःस्थापना गृह निर्माणमा संयोजनकारी भूमिकामा रहेका गायक पोर्तेलले कम्तीमा रु पाँच लाख जुटेमा दुःख–सुख बस्न हुने सानो घर निर्माण गर्न सकिने बताउनुभयो । उहाँका अनुसार हालसम्म करिब रु डेढ लाख जति जुटेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?