प्रधानमन्त्री मोदी डाभोस प्रस्थानगर्दै


नयाँ दिल्ली:भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार स्वीट्जरल्याण्डको डाभोस प्रस्थान गर्दै हुनुहुन्छ । विश्व आर्थिक मञ्चको ४८ औँ बैठकमा सहभागिताका लागि उहाँ सोमबार नयाँ दिल्लीबाट त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको समाचारमा जनाइएको छ । प्रधानमन्त्री मोदीको भ्रमण दलमा भारतीय अर्थमन्त्री अरुण जेट्ली, वाणिज्य तथा उद्योगमन्त्री सुरेश प्रभुलगायत अन्य उच्च सरकारी अधिकारीहरु पनि रहनुभएको छ ।
उक्त ४८ औँ वार्षिक बैठकको मङ्गलबार हुने उद्घाटन सत्रलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री मोदीले डाभोसमा रहदा विभिन्न अन्तर्राष्ट्रिय नेताहरु, व्यापारिक समुदायका नेताहरुसँग द्विपक्षीय भेटवार्ता गर्नुकासाथै अन्तर्राष्ट्रिय वाणिज्य परिषदलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको समाचारमा जनाइएको छ । सो भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग भेटवार्ता गर्नुहुने कार्यक्रम पनि रहेको भारतीय विदेश मन्त्रालयले बताएको छ । यस वर्ष विश्वका वाणिज्य, व्यापार, राजनीतिक क्षेत्र, विभिन्न देशका उच्च सरकारी अधिकारी तथा नेताहरु गरी कम्तीमा पनि तीन हजार जनाको सहभागिता रहने बताइएको छ । (रासस/एएनआई)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?