पारदर्शीरुपमा सूचना उपलब्ध गराउन निर्देशन


इनरुवा: प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले पारदर्शी रुपमा सूचना उपलब्ध गराउन सुनसरीका कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।
इनरुवामा बुधबार सूचना आयोगले आयोजना गरेको सूचनाको हक विषयको अन्तरक्रियामा उहाँले सूचना लोकतन्त्रको आधार भएकाले सूचना मागेको नागरिकलाई दिनका लागि आग्रह गर्नुभयो ।
उहाँले सूचनाको प्रवाह सही तरिकाबाट भएमात्र लोकतन्त्र मजबुत हुने बताउनुभयो । उहाँले सूचनाको हकको कार्यान्वयनमा कर्मचारी र कार्यालय प्रमुखले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

राससकर्मी झासहित सात पत्रकार सम्मानित
यसैबीच, मधेस आन्दोलन र नागरिकको अधिकारका लागि सञ्चारमाध्यमबाट महत्वपूर्ण योगदान पु¥याएको भन्दै राष्ट्रिय समाचार समिति(रासस)का इनरुवा समाचारदाता अजितकुमार झासहित सात पत्रकारलाई सम्मान गरिएको छ ।
१६औँ गजेन्द्रनारायण स्मृति दिवस तथा मधेस बलिदानी दिवसको अवसरमा बुधबार सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा राष्ट्रिय जनता पार्टीले झासहितका पत्रकारलाई सम्मान गरेको हो ।
सम्मानित हुने पत्रकारमा ‘गोरखापत्र दैैनिक’का इनरुवा समाचारदाता जयकृष्ण यादव, ‘पपुलर एफएम’का स्टेसन म्यानेजर प्रकाश मेहता, ‘एभिन्युज टेलिभिजन’का कृष्ण भट्टराई ‘जुनेली’, ‘मकालु टेलिभिजन’का अमर काफ्ले, ‘वर्णमाला दैनिक’का राजेन्द्र पोखरेल र ‘प्रतिक्षण दैनिक’का इक्वाल अहमद हुनुहुन्छ ।
सोही अवसरमा मधेश आन्दोलनका घाइतेलाई पनि सम्मान गरिएको थियो । मधेस आन्दोलनमा घाइते भएका लालमोहर यादव, सभापैद यादव, अमरलाल यादव, हरिगोविन्द यादव, लगायतलाई ४३ जनालाई सम्मान गरिएको आयोजक संस्थाका संयोजक रामनारायण यादवले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?