म्याग्दीमा अल्लो व्यवसाय फस्टाउँदै


बेनी, म्याग्दी: जल, जमिन, जंगल र जडीबुटीमा प्रशस्त सम्भावना रहेको जिल्लामा जंगलमा पाइने अल्लो र त्यसबाट निर्माण गरिने सामग्रीको व्यवसाय फस्टाउँदै गएको छ ।
अल्लोबाट निर्माण गरिएका सामग्रीको माग बढ्दै गएको सो व्यवसायसँग सम्बन्धित व्यक्तिले बताएका छन् । हालै सम्पन्न छैटौँ म्याग्दी महोत्सव तथा माघेसङ््क्रान्ति मेलाको अवसरमा महिला उद्यमीले अहिलेसम्मकै बढी अल्लो र ढाकाका साम्रगी बिक्री गरेका थिए ।
विगतका महोत्सवमा कक्ष राखे पनि अधिकांश सामग्री घरमै फिर्ता लिएर आउने गरेकी महिला उद्यमी नेकसरा पुनले यस वर्ष करिब रु पाँच लाख बराबरको अल्लोका सामान बिक्री भएको बताउनुभयो । उहाँले रु १०० देखि रु सात हजारसम्म पर्ने अल्लोका विभिन्न सामान बिक्री गर्नुभएको थियो ।
अल्लो कपडाबाट बनाइएको कोट, जुत्ता, चप्पल, झोला, टोपी, पर्सलगायत सामग्री बिक्री गर्नुभएको थियो । उहाँले काठमाडौँको भृकुटीमण्डपमा आयोजित हस्तकला प्रदर्शनीमा समेत रु तीन लाखको विभिन्न सामग्री बिक्री गर्नुभएको थियो । धौलागिरि अल्लो कपडा उत्पादन तथा टे«निङ सेन्टर सञ्चालन गरेर पुनले अल्लोका सामग्री उत्पादन गर्दै आउनुभएको छ ।
“स्वदेशमा भन्दा विदेशमा यसको माग अत्यधिक छ,” उहाँले भन्नुभयो । पुनले अल्लोका जुत्तादेखि कोट, इष्टकोट, गलबन्दी, रुमाल, टोपीलगायत सामग्री निर्माण गर्नुहुन्छ । जिल्लाभरि व्यावसायिकरुपमा अल्लोका ७० जना तथा ढाकाका ६० उद्यमीले दैनिकरुपमा सामग्री निर्माण गरिरहेका छन् ।
बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाभित्र सरकारी तथा गैरसरकारी संस्थामार्फत तालीम लिएर उद्यमी बनेका अधिकांशले उत्पादनले बजार पाउन थालेपछि अन्य घरायसी कामसमेत छोडेर दैनिक अल्लो र ढाकाका सामग्री बनाउने गरेका छन् । “विदेशबाट आएकाहरु कोशेलीको रुपमा लैजान्छन् । गाउँका महिला आर्थिकरुपमा समेत आत्मनिर्भर हँुदैछन्” अन्नपूर्ण गाउँपालिका–८ राम्चे नांगीकी राममायाँ पुनले भन्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?