सन्दुक रुइतलाई भारतको प्रसिद्ध पद्मश्री पदक


काठमाडौं : भारत सरकारले नेपालका आँखा सर्जन सन्दुक रुइतलाई प्रसिद्ध पदक पद्मश्री प्रदान गर्ने भएको छ। गणतन्त्र दिवसको पूर्व सन्ध्यामा नरेन्द्र मोदी सरकारले पद्मश्री पदक विजेताहरूको सूची सार्वजनिक गरेको हो।भारत सरकारले सार्वजनिक गरेको सूचीमा उनलाई आँखा रोग निदान तथा शल्यक्रियाका लागि उक्त अवार्ड दिइएको उल्लेख छ। भारतीय नागरिकहरूका लागि दिइने चौँथो ठूलो यो पदक भारत सरकारले विशिष्ट योगदान पुर्‍याउने विदेशीहरूलाई पनि दिने गरेको छ। २०१७ मा यो पदक माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले प्राप्त गरेकी थिइन्। सूचीमा भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीसहित कला, खेलकुद, साहित्य, संगीत, फिल्म, चिकित्साशास्त्र, शिक्षा, समाजसेवा लगायतका क्षेत्रमा योगदान पुर्‍याउनेहरूको नाम छ। ताप्लेजुङमा जन्मिएका रुइत तिलगंगा आँखा अस्पतालका संस्थापक एवं कार्यकारी निर्देश हुन्। ६२ वर्षीय रुइतले विकास गरेको लेन्सका कारण आँखाको शल्यक्रियाका लागि हुने खर्च ९० प्रतिशतले घटेको छ। उनले एक लाख भन्दा बढीको मोतिया विन्दुको शल्यक्रिया गरेका छन्। उनले सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?