मेयरकपको फाइनलमा पोखरा र वालिङ भिड्ने


बागलुङ: बागलुङ नगरपालिकाको आयोजनामा यहाँ जारी ४ नं प्रदेशस्तरीय ‘मेयरकप फुटबल’ प्रतियोगिताको उपाधिका लागि कास्कीको पोखरा लेखनाथ महानगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका भिड्ने भएका छन् ।
शनिबार स्थानीय बाङ्गेचौर खेल मैदानमा भएको सेमिफाइनल खेलमा गोरखा नगरपालिका, गोरखालाई ८–१ को गोल अन्तरले पराजित गर्दै पोखरा लेखनाथ महानगरपालिका फाइनलमा पुगेको हो । यस्तै, दोस्रो सेमिफाइनल खेलमा तनहुँको व्यास नगरपालिकालाई १–० को गोल अन्तरले पराजित गर्दै स्याङ्जाको वालिङ नगरपालिकाले उपाधि भिडन्तको यात्रालाई सुरक्षित गरेको हो । पहिलो सेमिफाइनल खेलमा पोखरा लेखनाथ महानगरपालिकाका लागि खेलको २५ औँ मिनेटमा कप्तान उत्तमले सुरुआती गोल गर्नुभएको थियो । अर्का खेलाडी विजय श्रेष्ठले खेलको ३३ औँ, ४४ औँ र ६० औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो ।
यस्तै, पोखराका लागि खेलको ३९ औँ र ४८ औँ मिनेटमा भीषण गुरुङले गोल गर्नुभएको थियो भने अर्का खेलाडी बालप्रसाद गुरुङले ७८ औँ र खेलको अतिरिक्त समय ९२ औँ मिनेटमा गोल गर्नुभएको थियो ।
गोरखाका लागि एकमात्र गोल खेलको ७९ औँ मिनेटमा सुदीप बस्नेतले गर्नुभएको थियो । दोस्रो सेमिफाइनल खेलमा वालिङका स्ट्राइकर सुरज हमालले खेलको ५५ औँ मिनेटमा गोल गर्नुभएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पेनाल्टीको अवसर पाउँदा पनि गोल गर्नबाट व्यास नगरपालिका चुकेको थियो ।
खेलको ६९ औँ मिनेटमा व्यासका स्ट्राइकर दिपेश आले मगरलाई वालिङका डिफेण्डर मंगल रानाले डिबक्समा फल गरेपछि पाएको पेनाल्टी विफल भएको थियो । व्यासका प्रेम आले मगरले प्रहार गरेको पेनाल्टी वालिङका गोलरक्षक राजाबाबु थापाले विफल पारिदिनुभएको थियो ।
प्रदेश नं ४ का ११ नगरपालिका सहभागी भएको प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । प्रतियोगिताको विजेताले नगद पुरस्कार रु दुई लाख २२ हजार २२२ र उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्नेछन् ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद रु १० हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई सम्मान स्वरुप रु पाँच÷पाँच हजार प्रदान गरिने आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?