प्रदेश नं ५: प्रदेशसभा अन्तरिम कार्यविधि–२०७४ पारित


बुटवल: राज्यको नयाँ संरचनाबमोजिम निर्माण भएको प्रदेश तहअन्तर्गत प्रदेश नं ५ को ऐतिहासिक पहिलो प्रदेशसभा बैठकले प्रदेशसभा अन्तरिम कार्यविधि–२०७४ लाई पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई समेत बैठकले सर्वसम्मतिले पारित गरेको छ । यस्तै, बैठकमा सभामुखले प्रदेशसभा कार्य सञ्चालन कार्यविधि, २०७४ बमोजिम सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न पाँचजना सदस्यको मनोनयनलाई निर्णयार्थ प्रस्तुत गर्नुहुँदा बैठकले सर्वसम्मतिले पारित गरेको छ । बैठकले नेकपा (एमाले)बाट कमलप्रसाद श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)बाट दधिराम न्यौपाने, नेपाली काँग्रेसबाट अष्टभुजा पाठक, संघीय समाजवादी फोरम नेपालबाट सन्तोषकुमार पाण्डे र राष्ट्रिय जनमोर्चाबाट तारा जिसी मनोनित हुनुभएको छ ।
प्रदेशसभाको आजको ऐतिहासिक बैठकको कार्यसूचीबमोजिम बैठकको अध्यक्षता गर्नुभएका प्रदेश नं ५ का ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले प्रदेश प्रमुखले यही माघ १२ गते नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गर्नुभएको पत्र पढेर सुनाउनुभएको थियो । यस्तै, प्रदेशसभा अन्तरिम कार्यविधि–२०७४ को दफा (६) को उपदफा (१) बमोजिम आगामी फागुन २ गते प्रदेश सभामुखको चयनका लागि मिति तय गरिएको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा बैठकले सर्वसम्मतरुपमा पारित गरेको छ । यसअघि प्रदेश प्रमुखको पत्र पढेलगत्तै प्रदेश नं ५ मा क्रियाशील राजनीतिक दलका नेताले सभालाई सम्बोधन गर्नुभएको थियो । सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता शंकर पोखरेलले योजनाबद्ध ढंगले काम गर्नसके प्रदेश नं ५ लाई सबैभन्दा समृद्ध प्रदेश बनाउन सकिने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता प्रदेश सदस्य कुलप्रसाद केसीले प्रदेश नं ५ ले थारुवान, मगरात र अवधका नागरिकलाई भावनात्मकरुपमा जोड्नसके प्रदेशको समृद्धि हुने बताउनुभयो । नेपाली काँग्रेसका प्रदेश सदस्य वीरबहादुर रानाले संघीय व्यवस्था भनेको सहकार्यको व्यवस्था भएकाले प्रदेशको समृद्धिका लागि सबैले दलभन्दा माथि उठेर काम गर्न तयार हुनुपर्ने बताउनुभयो । संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता सहर्षराम यादवले विविधताकाबीच एकता कायम गर्दै पिछडिएका जातिलाई अधिकार दिएमा मात्र विकास सम्भव हुने बताउनुभयो । राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य तारा जिसीले समतामूलक विकासको योजना बनाइ प्रदेशको विकास गर्न सकिने बताउनुभयो । राजपाका नेता बिना पन्थ भने बिरामी भएका कारण सभामा अनुपस्थित रहनुभएको बताइएको छ । दिउँसो १ः०० बजेका लागि आह्वान भएको बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको थियो । बैठकमा प्रदेशसभा सचिवालयले तोकेर जारी गरिएका प्रवेश पास लिएका व्यक्तिलाई मात्र प्रवेश दिइएको थियो । संघीयता लागू भएपछिकै पहिलो प्रदेशसभाको बैठकस्थलमा उच्चपदस्थ कर्मचारी, सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि तथा सञ्चारकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो । प्रदेशसभाको अर्को बैठक आगामी फागुन २ गते हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?