आगलागी हुँदा रु १५ लाखभन्दा बढी क्षति


विराटनगर: उदयपुर जिल्लाका दुई स्थानमा आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार त्रियुगा नगरपालिका–११ पुरानो सब्जी बजारस्थित भक्तबहादुर दनुवारको घरमा मंगलबार राति ८ बजे अचानक विद्युत् चुहावट भई भएको आगलागीमा ढुङ्गामाटोले बनेको दुईतले घर पूर्णरुपमा जलेको छ । आगो प्रहरी र स्थानीय जनताको सहयोगमा नियन्त्रणमा लिइएको तथा क्षतिको विवरण संकलन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यसैगरी, चौदण्डिगडी नगरपालिका–४, बसाहास्थित चन्द्रकला राईको घरमा मंगलबार राति १० बजे टुकी बत्तीबाट अचानक आगलागी हुँदा काठले बनेको घर, फर्निचर, लत्ताकपडा र भाँडावर्तन जलेका नष्ट भएको छ । आगलागीबाट राईको करिब रु १५ लाखभन्दा बढीको धनमाल क्षति भएको बताइएको छ । उक्त आगो स्थानीय जनता, प्रहरी र बारुणयन्त्रको सहयोगमा नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?