प्रदेशसभा संसदीय दलको नेता बन्न मनोनयन दर्ता


विराटनगर:  नेकपा(एमाले) बाट प्रदेश नं १ को संसदीय दलको नेता छान्नका लागि आज दुई जना बीच मतदान हुने भएको छ । संसदीय दलका नेता बन्नका लागि एमालेका सचिवसमेत रहनुभएका नेता भीम आचार्य र पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहनुभएका पूर्वमन्त्री शेरधन राईले आज बिहान ११ः३० बजे जिल्ला समन्वय समितिस्थित संसदीय दलको कार्यालयमा मनोनयनपत्र दर्ता गराउनुभएको हो ।
आचार्यको समर्थक र प्रस्तावकमा गणेश काङवाङ (पाँचथर) र तुलसी न्यौपाने (संखुवासभा) रहनुभएको छ भने राईको प्रस्ताव र समर्थकमा हिक्मत कार्की (झापा) र जगदीश कुशियत(सुनसरी) रहनुभएको छ । दाबी विरोधको प्रक्रिया पूरा भएपछि अपरान्ह ३ः३० बजेदेखि मतदान हुने नेकपा(एमाले) मोरङका अध्यक्ष विनोद ढकालले जानकारी गराउनुभयो । प्रदेश नं १ मा नेकपा (एमाले)को प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ गरी कुल ५१ जना प्रदेशसभा सदस्य छन् । तीमध्ये २६ मत ल्याउनु हुनेले संसदीय दलको नेता हुनुहुनेछ । संसदीय दलकै नेता मुख्यमन्त्री हुने सो पार्टीको विधानमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?