सत्तान्धताका पर्याय देउवा–दम्पत्ती


डा. उदय गुरुङ
सत्तान्धताका पर्याय नेपाली कांग्रेसका सभापति तथा म्यान्डेड गुमाइ सकेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मात्र भनियो भने त्यो अन्याय पूर्ण हुनसक्छ । किनभने ०६३ को जनआन्दोलनबाट गणतन्त्र आइसकेपछि यताका मात्र राजनीतिक परिदृष्यलाई नियाल्ने हो भने सबै राजनीतिक दल र तिनका नेतृत्वमा चरम रुपको सत्तान्धता न देखिएको होइन । सत्ता स्वार्थका नाममा यसकाल खण्डका प्रधानमन्त्री भइसकेका कमरेड खड्गप्रसाद ओली, पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई सबैमा सत्तान्धता देखिएकै हो । यहाँनेरी एउटा कुरो के हेक्का राख्नु आवश्यक हुन्छ भने सत्ता स्वार्थ र सत्तान्धतामा आकाश जमिनको फरक हुन्छ । चालु संसदीय प्रणालीमा दलहरु र तिनका नेतृत्वले सत्तास्वार्थ राख्नुलाई त्यति अस्वभाविक मानिदैन । मात्र अपेक्षा के राखिएको हुन्छ भने त्यो राष्ट्र जनता र प्रणालीका लागि होस् । त्यसमा पार्टीका नेतृत्वका सत्तास्वार्थ प्रकट भइहाल्यो भने त्यो आलोचनाको विषय भए पनि पुरै बर्जित र धातक भने मानिदैन । तर सत्तान्धता भनेको चाहिं पूर्ण रुपमा घातक र खाल्डोमा मात्र पु¥याउँछ जुन कांग्रेसको पछिल्लो पदाजयले पनि पुष्टि गरेकै छ । पार्टी सभापति शेरबहादुर देउवाको अस्वभाविक र लाजमर्दो सत्तान्धताले गर्दा नै नेपाली कांग्रेसले न राम्रो पराजय बेहोर्नु परेको आम कांग्रेसी जनको समेत टिप्पणी पाइने गरेको छ ।
सत्ता स्वार्थमा अलिकित वरीपरी हेर्नु पर्ने हुन्छ देखिन्छ पनि । तर सत्तान्धतामा भने वरिपरि केही देखिदैन र सबै विवेक, बुद्धि, विचार विलुप्त भएको हुन्छ । जस्तो उदाहरणको लागि देउवा पत्नी आरजु रणा कैलालीबाट आफू चुनाव हारेपछि देउवातर्फबाट आम मतदातालाई धन्यवाद दिन उनले जितेको क्षेत्रमा पुगेकी थिइन । ‘मैले चुनाव हारेर केही विग्रेको छैन । शेरबहादुर देउवा अन्तर्राष्ट्रिय स्तरको ठूलो नेता हुनुहुन्छ । कांग्रेसले चुनाव हारे पनि प्रधानमन्त्री भने फेरि उहाँ नै हुनुहनेछ । उहाँलाई ज्योतिषीले पनि सात पटकसम्म प्रधानमन्त्री हुने भनिसकेको छ । तपाईहरुलाई जिताइ दिएकोमा धन्यवाद दिन आउन नभ्याएकोले म आएको हुँ’ त्यहाँ उनले बोलेका कुरालाई मिडियाले जस्ताको तस्तै प्रचार प्रसार गरेको थियो । कांग्रेस भित्रको बौद्धिक वृतमा ‘थिङ ट्याङक’ को रुपमा स्थापित भएकी आरजु राणाका उल्लेखित हरफहरु सत्तान्धताको गतिलो उदाहरण थियो । ठिक त्यही खालको उदाहरण राष्ट्रिय सभाको चुनाव सम्पन्न भइसकेपछि शेरबहादुर देउवाले देखाएका छन् । ‘अहिले राजीनामा दिनु परे पनि छ महिनापछि फेरि प्रधानमन्त्री आफू नै हुने ज्योतिषीले भनेको छ’ भन्दै देउवाले संसदीय दलको नेतामा भोट हाल्न रामचन्द्र शंशाक पक्षधर सांसदलाई आफूतिर तान्न थालेका मिडियामा आएको समाचार हो । यो समाचार भने आरजु राणाको माथि उल्लेखित उदाहरणभन्दा अझ कडा रुपको भयो । जुन जिम्मेवारी र पोजिसनमा शेरबहादुर छन् त्यस हिसावले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने बाध्यात्मक समय आएको बेलामा उनले यसरी ‘ज्योतिषीले भनेकै छ । ६ महिनापछि फेरि प्रधानमन्त्री बन्छु’ भन्ने सोच्नु पराकाष्टाको बुद्धिहीनता हो ।
राष्ट्रिय सभाको चुनाव सकिना साथ राजीनामा दिने कि समानुपातिक तर्फकोसमेत सबै परिणामको औपचारिक पत्र निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाएपछि मात्र राजीनामा दिने भन्ने प्रश्नमा निर्णय लिन देउवा पक्षधर केन्द्रीय सदस्यहरुको बालुवाटारमा बैठक बसेको समाचार बाहिर आयो । त्यो बैठकले एक हप्ता भए पनि किन पहिले नै राजीनामा दिने ? न दिने भन्ने निर्णय गरेको समाचार पनि बाहिर आयो । मानिसहरुले भन्ने गरेका अखबारहरुले लेख्ने गरेका जस्तो निर्वाचनको परिणाम सामुन्ने आउना साथ देउवाले राजीनामा न दिएर सत्तान्धता देखाए भन्ने पक्षमा पंक्तिकार छैन । पंक्तिकारको दृष्टिमा यस बखत देउवाले राजीनामा न दिनुमा उनको सत्तान्धता होइन, संविधानसभाकै अन्धताका कारण उनलाई राजीनामा न दिन बाध्यता भएको हो भन्ने पंक्तिकारको विचार छ । तर यस क्रममा प्रधानमन्त्रीका रुपमा (१) वृद्ध भत्ताको उमेर घटाउने र (२) माओवादी हिंसामा मारिएका पुलसी, सेना, कर्मचारी या अन्य सामान्य जन सम्पूर्णलाई सहीद घोषणा गरेर उनले जुन नाम अनुसारको काम देखाए त्यसको पक्षमा भने यो पंक्तिकार पटक्कै छैन ।
नेपाली कांग्रेसको जस्तो इतिहास बोकेको पार्टीको निर्वाचित सभापतिको गरिमा र जिम्मेवारीमा रहेको नेतृत्वले आउँदो सरकारलाई सत्तान्धताले चुर भएर खरबौंको भार थपिदिनु कुनै पनि हालतमा राजनीतिक मूल्यमा पर्दैन । कमल थापाको हैसियलाई पनि न सुहाउने काम गर्नु निर्लज्जता र बेइज्जतिको हद पार गर्नु हो । अब कांग्रेसलाई बोकाइएको यस खालको सोच, समझ, नियतको चरित्र भारीले त्यो पार्टीलाई जन मानसमा पुरानो छवि पाउन दसकौं लाग्ने निश्चित छ । ज्योतिषीको कुन गणनाले शेरबहादुर ६ महिनापछि फेरि प्रधानमन्त्री हुनेछन् ? यो प्रश्नमा समाचार बन्नु पनि समयको बर्बादी मात्रै थियो र त्यसमा सोचिरहनु झन महामुर्खता नै हुनेछ ।
संसदीय दलको नेता वन्नका लागि देउवाले रामचन्द्र–शशांक पक्षधर सांसद तान्न यस्तो कुरा गरेका समाचार बाहिर आउनुले नेपाली कांग्रेस पार्टी कति खोक्रो र अन्धकारमा भासिएको रहेछ भन्ने छर्लङ्ग हुन्छ । नेपाली कांग्रेस जस्तो हरेक परिवर्तनका फड्कोमा निर्णायक पाइला टेकेको पार्टीको यस खालको गणेशमानजीले भन्नु भएको जस्तो ‘आइसियूमा घिटी घिटी’को अवस्थामा भेटिनुले कुन प्रजातन्त्रवादीको मन चित्त न दुखेको होला ? सबैलाई नै एक खालको गहिरो चिन्ता छ । कांग्रेसको अवसानमा नेपालको भविष्यको विकासको राजनीतिले कुन मोड लेला ? भन्ने चिन्ता एक प्रकारले देशव्यापी छ । नेपाली कांग्रेसले परिभाषित गरेको समाजवाद अब त्यही रुपमा रहला कि अर्कै खालको मोडल आउने हो ? यस्ता धेरै अनुत्तरित प्रश्नहरु उठेका छन् । चीनमा च्याङकाइ सेकको सत्तान्धताले त्यत्रोे बीसवर्ष जति राष्ट्रिय राजनीतिलाई औंलामा नचाएको कोमिन्ताङ पार्टी इतिहासको कन्टेरमा थन्कियो । नेपालमा गिरिजाप्रसाद कोइरालाको सत्तान्धताले ०१५ सालका ४ सिट कम्युनिष्ट ०७४ मा आइपुग्दा दुई तिहाइ भए । अब शेरबहादुर देउवाको सत्तान्धताले भने नेपाली कांग्रेसलाई आर्यघाटमा पु¥याउने होला । चेतना भया । अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?