प्रदेश सांसद पन्थीद्वारा क्याम्पसलाई रु १५ लाख सहयोग


जितपुर, कपिलवस्तु:प्रदेश नं ५ कपिलवस्तुका सांसद विष्णु पन्थीले यहाँको एक क्याम्पसलाई शनिबार रु १५ लाखभन्दा बढी सहयोग गर्नुभएको छ । वाणगंगा–४ बुंची सिद्धार्थ क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले जारी महायज्ञको दोस्रो दिन सांसद पन्थीले रु १५ लाख १५ हजार सहयोग गर्नुभएको हो । सांसद पन्थीले क्याम्पसको स्तरोन्नतिका साथै आजको युगमा प्राविधिक शिक्षाको अनिवार्य आवश्यता भएको हुँदा प्राविधिक शिक्षाका लागि आफूले सहयोग गरेको बताउनुभयो ।
कपिलवस्तु क्षेत्र नं १ (क) बाट भारी मतले प्रदेश सांसदमा विजयी हुनुभएका पन्थी नेकपा एमालेका प्रभावशाली नेताको रुपमा चिनिनुहुन्छ । प्राविधिक शिक्षा अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यतालाई घटाउदै पशु र बाली विज्ञान विषयको अध्यापनका लागि आर्थिक स्रोत जुटाउन महायज्ञको आयोजना गरिएको महायज्ञ मूल आयोजक समिति अध्यक्ष रविबहादुर काफलेले जानकारी दिनुभयो ।
यही माघ २६ गतेदेखि शुरु भएको श्रीमद्भागवत सप्ताह धनधान्याचल ज्ञान महायज्ञको दोस्रो दिन रु १७ लाख ६ हजार ४०० रकम दान संकलन भएको महायज्ञ प्रचारप्रसार संयोजक युवराज पोख्रेलले बताउनुभयो ।
त्यसैगरी, कमला भट्टराईले रु एक लाख ११ हजार १११, लालमणि न्यौपानले रु ५० हजार १५१, विष्णुप्रसाद भट्टराईले रु २५ हजार ५५५ र हरिहरपुर गाउँ समाजबाट रु ११ हजार १३५ दान संकलन भएको छ ।
महायज्ञको प्रमुख वाचक दीनबन्धु पोखरेल हुनुहुन्छ । पोखरेल नेपालकै चर्चित कथावाचक भएको कारण हजारौँ दशनार्थीको उपस्थिति रहेकोे आयोजकले जनाएको छ । महायज्ञ फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?