प्रदेश नं २ को मुख्यमन्त्रीमा राउत नियुक्त


महेन्द्रनगर धनुषा: प्रदेश नं २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका मोहम्मद लालबाबु राउत नियुक्त हुनुभएको छ । राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दाबी पेश गर्नुभएको थियो । प्रदेश प्रमुख रत्नेश्वर कायस्थले आज फोरमका संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीको नियुक्तको पत्र दिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा राउतलाई नियुक्ति पत्र प्रदान गरिएको हो । कायस्थले मन्त्रिपरिषद् विस्तारका लागि समेत राउतलाई पत्र दिनुभएको छ । योसँगै मन्त्रिपरिषद्को लागि बाटो खुलेको छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि राउतले संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो–“मधेसी शहीदको सपना साकार भएको छ ।”
फोरम नेपालको संसदीय दलका नेता समेत रहेका राउतले बिहीबार शपथग्रहण गर्नुहुने छ । पर्साबाट प्रदेशसभामा निर्वाचित राउत संघीय समाजवादी फोरमको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । राउत नेपालकै अल्पसंख्यक मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री पदमा पुग्ने प्रथम व्यक्ति हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?