‘बक्स अफिस’बाट चलचित्र उद्योग व्यावसायिक


काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चलचित्रसम्बन्धी कारोवारलाई व्यवस्थित र पारदर्शी बनाउन लागू भएको विद्युतीय टिकेटिङ प्रणाली (बक्स अफिस)ले चलचित्र उद्योगलाई थप व्यावसायिक बनाउने बताउनुभएको छ ।  नेपाल चलचित्र विकास बोर्डको सक्रियतामा आजदेखि लागू भएको ‘बक्स अफिस’ को उद्घाटनपछि मन्त्री बस्नेतले अर्बाैंको लगानी र हजारौँले रोजगारी पाएको चलचित्र क्षेत्र अब आर्थिक दृष्टिले समेत पारदर्शी हुने धारणा व्यक्त गर्नुभयो । विगतमा ‘बक्स अफिस’ लागू गर्ने सम्बन्धमा धेरै बहस भए पनि आवश्यक समन्वयको कमीले लागू हुन नसकेको बताउँदै उहाँले सरोकारयुक्त सबैको सहयोग र सक्रियताले आजदेखि लागू भएकामा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा चलचित्र बोर्डका अध्यक्ष निकिता पौडेलले बोर्डको लगानी र सक्रियतामा ‘बक्स अफिस’ लागू हुन लागेको अवगत गराउँदै यसलाई सफल बनाउन सरोकारयुक्त सबैको सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा बोर्डका सदस्य नरेन्द्र महर्जन, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलगायतले ‘बक्स अफिस’ ले चलचित्र क्षेत्र व्यस्थित र थप मर्यादित भई उद्योगका रुपमा स्थापना हुने धारणा व्यक्त गर्नुभयो ।
यही फागुन ७ गतेभित्र काठमाडौँ उपत्यकाका सम्पूर्ण विद्युतीय टिकेटिङ प्रणाली जडान भएका मल्टिप्लेक्स चलचित्र घरमा चलचित्र घर र केन्द्रीय सर्भरबीच लिंक गर्न आवश्यक उपकरण उपलब्ध गराइने बोर्डले जनाएको छ । केन्द्रीय सर्भर काठमाडौँको थापाथलीमा स्थापना गरिएको छ । पहिलो चरणमा उपत्यकामा लागू गर्न आगामी असार ३१ गतेसम्म उपत्यकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण चलचित्रघरमा विद्युतीय टिकेटिङ प्रणाली जडान गरी केन्द्रीय सर्भरसम्म लिंक गरेर पूर्णरुपमा लागू गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?