मुख्यमन्त्रीद्वारा नारायणगढ–मुग्लिन सडक निरीक्षण


चितवन: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती हुनुमा कानुन नै दोषी भएको बताउनुभएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको निरीक्षणपछि आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सबै क्षेत्रका कानुनहरुमा केहि त्रुटि रहेकाले अब त्यसलाई सच्चयाउनुपर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले भन्नुभयो, “कहाँबाट भ्रष्टाचार गर्ने हो, बाटोहरु कानुनले नै खोलिदिएको छ ।”
“सबै कुरा गएर पैसामा अडिएको छ,” उहाँले भन्नुभयो, “लेनदेनकै कारण यी सबै भएको हो, त्यसैले कानुनलाई परिवर्तन नगरेसम्म परिवर्तनको अनुभूति दिलाउन सकिदैन् । मुख्यमन्त्री पौडेलले “जे जस्तो समृद्धिको कुरा गरिरहेका छौँ, विधमान कानुनबाट त्यो सम्भव देखिएको छैन,” भन्दै त्यस्ता कानुन प्रदेशसभाले परिवर्तन गर्ने तर त्यो परिवर्तन आजको भोलि नभएर केही समय लाग्ने बताउनुभयो । सडक विस्तारको काममा ढिलाइ भइरहेकाप्रति इङ्गित गर्दै उहाँले मिति थप्दै जाने र काम नहुने परिपाटी अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “अब फेरि पनि तीन महिनाको मिति थप्ने हो भने त्यो अन्तिम हुनुपर्छ । त्योभन्दा पनि पछि मिति थप्ने काम भयो भने त्यो राम्रो हुँदैन ।” एकले अर्काेलाई दोष दिएर काममा ढिलाइ गर्न नपाइने बताउँदै मुख्यमन्त्री पौडेलले परियोजना, परामर्शदाता कम्पनी र ठेकेदार कम्पनीका प्रतिनिधिलाई समयमै काम सम्पन्न गर्न निर्देशन पनि दिनुभयो । निरीक्षणमा आउनु भएका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिग्राम जमरकट्टेलले कम मूल्यमा टेण्डर पार्ने प्रवृत्तिको अन्त्य नभएसम्म समयमा काम नहुने बताउँदै समयमा सडक नबन्दा जनताले दुःख पाएको र त्यसको दोषी राज्य र कानुन भएको बताउनुभयो । सो अवसरमा आयोजनाका डिभिजनल इञ्जनियर गोविन्द खनाल, परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मी र ठेकेदार कम्पनीका प्रतिनिधिले आआफ्नो प्रगति विवरण र समस्याका बारेमा मुख्यमन्त्री पौडेललाई जानकारी दिनुभयो ।
निरीक्षण टोलीमा प्रदेश सांसद विजय सुवेदी, दावा लामा, रिना गुरुङ, पार्वती सिलवाल पनि हुनुहुन्थ्यो । नारायणगढ–मुग्लिन सडक आयोजनाको तेस्रो पटक थपिएको मिति यसै साता सकिन लागेकाले पुनः मिति थपका लागि प्रक्रिया अगाडि बढेको छ । तीन महिना मिति थप्नका लागि विभागमा प्रस्ताव गरिएको छ । दुई वर्षका लागि ठेक्का दिइएको सो सडक आयोजनाको मिति तीन पटक गरी १० महिना थप गरिसकिएको छ । हालसम्म उक्त आयोजनाको ७४ प्रतिशत काम सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?