कांग्रेसको केन्द्रीय समिति भंग गर्नुपर्छ


रेवतीरमण सुवेदी
‘वामगठबन्धन’का एक नायक खड्गप्रसाद ओलीले प्रधानमन्त्रीमा नियुक्ति पाइसकेपछि नेपाली कांग्रेस अब विधिवत रुपमा प्रतिपक्ष भएको छ । ‘महानिर्वाचन ०७४’ को प्रत्यक्षतर्फको परिणामका दृष्टिले मात्र हेर्ने हो भने ‘प्रमुख प्रतिपक्ष’ कहलिन पनि लाज मान्नुपर्ने स्थिति छ । जहाँसम्म समानुपातिक तर्फको समेत परिणामले ‘प्रमुख प्रतिपक्ष’ मान्यता पाएको कुरो छ, आम जनमानसमा ‘समानुपातिक’ को कुनै मान्यता छैन । ‘समानुपातिक’ प्रारम्भ भएपछि दलहरुले त्यसलाई यसरी पारिवारिक र व्यापारीकरण गरिदिए कि एक प्रकारले भन्न सकिन्छ त्यसको मूल ध्येयको बलात्कारै भयो । कतै पनि त्यसलाई आम जनमतले मान्यता दिएनन् र दिने कुरा पनि थिएन । ‘सेना र प्रहरीमा ‘श्रीमती संघ’ भए जस्तै संसदमा पनि एउटा ‘श्रीमती संघ’ चलाए हुन्छ’ पंक्तिकारलाई लेख्न बोल्न बाध्यता नै भएको थियो । चारवटा पार्टीका अध्यक्ष प्रत्यक्षतर्फ चुनाव हारेर समानुपातिकमा भने चारै अध्यक्षले आ–आफ्ना श्रीमती पठाएका भनेपछि समानुपातिकको मान्यता स्वत स्खलित हुन स्वाभाविक थियो । तथ्यमा तीन करोड पनि जनसंख्या न नाघेको नेपाल जस्तो सानो मुलुकमा इमान्दार ढङ्गले देश र जनताको हित र भलाई हुने राजनीतिक प्रणाली विकसित गर्ने हो भने ‘समानुपातिक’को कुनै आवश्यकता छैन ।
अब कांग्रेसको ‘प्रमुख प्रतिपक्ष’ को भूमिकाका सन्दर्भमा कुरो उठ्दा ‘समानुपातिक’ का यति कुरा आएका हुन् र भोलिका दिनमा पनि ‘समानुपातिक’ तर्फको कांग्रेसको सोच, समझ र नियतले उसलाई पटक पटक थेच्चारीइ रहने निश्चित छ । किन भने नेपाली जागरण कविलाई चेतनबाट धेरै माथि उठि सकेको छ । तर नेपाली कांग्रेसको नेतृत्व भने अझैसम्म पनि कविलाई चेतनाबाट माथि उठ्न न सकेका डलर खर्बपति विनोद चौधरीलाई ‘समानुपातिक’ बाट ल्याएकाबाट सत प्रतिशत पुष्टि र प्रमाणित हुन्छ । यसमा उद्योगपति विनोद चौधरी प्रति पंक्तिकारको कुनै कमेन्ट होइन । कमेन्ट त नेपाली कांग्रेसमा बडो ठूलो समाजवादी विद्वान कहलिएर खाइखेली नेतृत्व गरी रहेका प्रदीप गिरि जस्ताहरुको समाजवादी सोच समझलाई लिएर हो । नेपाली कांग्रेसले आफूलाई ‘समाजवादी पार्टी’ दावी गर्छ । अर्कोतर्फ पछिल्लो जारी ‘संघीय गणतान्त्रिक संविधान’मा पनि राज्यसत्ता ‘समाजवाद’ तर्फ अघि बढ्ने’ लेखिएको छ । यस्तोमा कुन ‘समाजवाद’ को परिभाषा भित्र डलर खर्बपति विनोद चौधरी समानुपातिक तर्फ प्रतिनिधित्व गर्छन र प्रदीप गिरि जस्ता घागघडान समाजवादी किन एक शब्द चुँ बोल्न लेख्न सक्दैनन् ? कि नेपाली कांग्रेसले पनि नयाँ शक्ति पार्टीका डा. बाबुराम भट्टराईले जस्तै ‘पूँजीवादमा न पुगि समाजवादमा पुँगिदैन’ भन्ने १८ औं शताब्दीको तर्क झिक्नु प¥यो र विनोद चौधरीलाई ल्याएको पूर्ण रुपमा समाजवादी विचारधारा अनुसार छ भनेर आफ्ना स्थानीय, प्रान्तीय, केन्द्रीय नेतृत्व, कार्यकर्ता र सैद्धान्तिक बहसमा रुची राख्ने शुभचिन्तकहरुमा पार्टी लाइन सर्कुल गर्नु प¥यो । जहाँसम्म उद्योगपति विनोद चौधरी किन कांग्रेसको समानुपातिकमा आए ? भन्ने सवाल छ, त्यो एकदम स्वाभाविक छ । उनी एक ठूला व्यापारी हुन् । व्यापारीको पहिलो धर्म भनेको थोरै लगानीबाट धेरै आर्जन गर्नु हुन्छ । कांग्रेसका शशांक कोइरालासँग उनको संगत भयो । वी.पी.को ‘समाजवाद’ संग अब कांग्रेसीहरुको कुनै साइनो जोगिएको रहेनछ । सबै कांग्रेसी पूर्णकालिन व्यापारी भइसकेका रहेछन्, भन्ने थाहा पाए । आफ्नो व्यापारलाई एमालेको सांसद भएर भन्दा कांग्रेसको सांसद हुँदा बढी फाइदा होला कि भन्ने एउटा अजमाइस गर्ने हिसावले पनि उनी एमाले सांसद छोडेर कांग्रेस सांसद हुन आइपुगे । विनोद चौधरी आफ्नो एउटा सोच लिएर हिडेर सम्पन्नताको यो शिखरमा आइपुगेका एक व्यापारी हुन । कसैले उनलाई उनको विचार बदलेर आफ्नो विचारमा हिडाउँछु ठान्छ भने त्यो महा मुर्खता हो । या भनौ अझै पनि कविलाई चेतनाबाट माथि उठ्न नसकेको प्रमाण हो ।
कांग्रेसका बारे यति कुरा गर्नुको मुख्य तात्पर्य अब कांग्रेसले के गर्नु पर्छ भन्ने सन्दर्भमा असल सल्लाह दिनलाई मात्र हो । अस्ति एउटा ‘छत–भेला’ मा ढुडीराजशास्त्री तारानाथ रानाभाट, गोविन्दराज जोशी, अर्जुन खड्का, अर्जुन बराल जस्ता एकदर्जन भन्दा बढी कांग्रेसी जनहरुलाई ‘टाउकोमा हात राखेर शेरेले सिध्यायो’ भन्दै विलाप गरिरहेका अवस्थामा भेट भएका थिए । त्यहाँ बोलेका कुरा यहाँ पनि उल्लेख गरेर भन्न खोजेको कुरा बुझाउने कोशिष गर्छु । ‘प्राण गएको मानिस र विचार हराएको पार्टी एउटै हो – लास । लासको प्रकृति त्यसको समय मै अन्त्यष्टि हुन सकेन भने त्यो गन्हाउँछ । कुहुन्छ । रोग फैलाउँछ । हामीहरु जस्ता कांग्रसीहरु महादेवले सतीदेवीको लास बोक्नु परेको जस्तो अभिषप्त भएका छौं’ त्यहाँ मैले बोलेको थिएँ र भनेको थिएँ ‘तपाईहरुले टाउकोमा हाथ राखेर शेरेले सिध्यायो भनेर विलाप गर्नुको अब केही अर्थ र प्रयोजन छैन ।’
अस्ति एउटा लेखमा पनि भनेको थिएँ कि शेरबहादुर देउवाका खिलाफमा सभापतिको उम्मेदवार घोषणा गर्दै हिड्ने शेखर कोइराला, गगन थापाहरु र सडकमा जुता पालिस गरेर नौटंकी प्रदर्शन गर्दै गरेका चन्द्रभण्डारीहरुको सोच र शैलीको कुनै अर्थ र तात्पर्य छैन । शेरबहादुरले राजीनामा दिन ढिला गरेका उनका कारणले न भएर संविधानले गर्दा नै थियो । यतिखेर भीरको त्यस्तो अक्करमा पुगेको छ कि एउटै मात्रै पाइला यदि गलत ठाउँमा टेकियो भने वीपीले भन्नु भएको जस्तो चीनको कोमिन्ताङ पार्टी जस्तै चीनो खोज्न पनि मुस्किले हुनेछ । र त्यो एक पाइलाको ड्राइभर सिटमा अहिले शेरबहादुर छन् र उनीसँग पनि त्यो एक पाइला ठिक टेक्ने ठाउँ एउटा मात्र छ । विगतमा कृष्णप्रसाद भट्टराईले एक पटक गर्नु भएको जस्तो अहिलेको पार्टी संरचनालाई महाधिवेशन प्रतिनिधिदेखि केन्द्रीय समितिसम्म सम्पूर्ण भङ्ग गर्नुपर्छ । नयाँ विधान र समाजवादको पुनव्र्याख्या लिएर कांग्रेस अघि न आए यसलाई प्रजापरिषद हुनबाट जोगाउन कसैले सक्दैन । चेतना भया । अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?