प्रधानमन्त्रीद्वारा बधाई


काठमाडौँ: चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङले श्री केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री लीले आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीको कार्यकालमा चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउनका साथै पारस्परिक लाभका द्विपक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने बताउनुभएको छ । सन्देशमा चिनियाँ प्रधानमन्त्रीले ‘एक क्षेत्र एक मार्ग’अन्तर्गत विविध क्षेत्रमा पारस्परिक लाभका क्षेत्रमा सहयोग गरिने पनि बताउनुभएको छ ।

बंगलादेश भ्रमण गर्न प्रम ओलीलाई निम्तो

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली नेपालको प्रधानमन्त्री हुनुभएकामा बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई बंगलादेशका प्रधानमन्त्रीले आज बधाई सन्देश पठाउँदै नेपाल र नेपाली जनताको कल्याणका निम्ति नेता ओलीले निर्वाह गर्नुभएको भूमिकाको नेपाली नागरिकले उच्च मूल्यांकन गरेको बताउनुभएको छ । बंगलादेशको स्वतन्त्रता आन्दोलनमा नेपालको राजनीतिक नेतृत्वबाट प्राप्त सहयोग र समर्थनको स्मरण गर्दै प्रधानमन्त्री हसिनाले दक्षिण एशियाको शान्ति र समृद्धिका लागि प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री ओलीलाई यथाशक्य चाँडो उपयुक्त समयमा बंगलादेश भ्रमण गर्न पनि आमन्त्रण गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?