प्रदेश नं. २ मन्त्रिपरिषद्को पहिलो निर्णयः शहीदका परिवारका एक सदस्यलाई रोजगारी


महेन्द्रनगर (धनुषा):  प्रदेश नं. २ को पहिलो मन्त्रिपरिषद् बैठकले मधेस आन्दोलनका शहीदका परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । मुख्यमन्त्री र मन्त्रीहरुको सपथलगत्तै बसेको मन्त्रिपरिषदको पहिलो बैठकले मधेस आन्दोलनका शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको हो । परिवार भन्नाले आमाबाबु, छोराछोरी र श्रीमती पर्नेछ । रोजगारी दिँदा पहिलो प्राथमिकता श्रीमतीलाई दिइनेछ ।
त्यस्तै बैठकले बन्द अवस्थामा रहेका सरकारी, अर्ध सरकारी उद्योगहरू पुनःसञ्चालनका लागि पहल गर्ने र प्रदेशमा विकास योजना अघि बढाउन आन्तरिक तथा वैदेशिक सहयोग प्राप्त गर्न केन्द्र सरकारसँग समन्वय गर्ने निर्णय गरेको छ । यसैगरी प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई चयन गरेको छ । यसअघि सपथ ग्रहण लिइसकेपछि आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालवावु राउत गद्दीले प्रदेशको विकासका लागि सुशासन, शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ गरी पाँच ‘स’ लाई विशेष प्राथमिकतामा राख्ने घोषणा गर्नुभयो ।
उपमाकुमारी देव उपसभामुखमा निर्वाचित 
प्रदेश नं. २ को उपसभामुखमा संघीय समाजवादी फोरमकी प्रदेशसभा सदस्य उपमाकुमारी देव निर्विरोध निर्वाचित हुनुभएको छ । उपसभामुखका लागि संसद सचिवालयले प्रकाशन गरेको सूचनाको समयावधिभित्र देवको मात्र उम्मेदवारी परेको हुँदा उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँका प्रस्तावकमा फोरमका सांसद् ज्ञानेन्द्र यादव र समर्थकमा राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको सुरिता साह रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?