वैवाहिक भोजमा भएको विष्पोटमा परी मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो


अजमर, भारत: भारतको पश्चिमी राज्य राजस्थानको बेअवर शहरमा गत शुक्रबार एक वैवाहिक भोज चलिरहेका वेला भएको विष्पोटमा परी हराएका थप नौ जनाको मृत शरीरलाई आइतबार उद्धार गरिएको भारतीय अधिकारीले जनाएका छन् । उक्त वैवाहिक समारोहमा सहभागीमध्ये नौ जनाको मृत शरीरलाई घटनास्थलबाट शनिवार साँझसम्म उद्धार गरिएको थियो ।
राति वैवाहिक भोज चलिरहेका समय ग्यास सिलिण्डर विष्पोट हुँदा भोजस्थान भइरहेको भवन भत्किनुका साथै ठूलो आगलागी भएको थियो । भारतीय सेनाको सहयोगमा जारी उद्धारका क्रममा महिला तथा बालबालिकासहित थप नौ जनाको मृत शरीर भग्नावशेषभित्रबाट निकालिएको छ । “अहिले (आइतबार अपरान्ह्)सम्म घटनास्थलबाट १८ शव निकालिएको छ,” अजमरका वरिष्ठ प्रशासकीय अधिकारी गौरव गोयलले भन्नुभयो । घटनास्थलबाट पाँच जनालाई आगोले पोलेर गम्भीर घाइते भएको अवस्थामा उद्धार गरिएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको गोयलले एएफ्पीलाई बताउनुभयो । घटनास्थल राजस्थान राज्यको राजधानी जयपुरबाट २०० किलोमिटर टाढा पर्छ । विस्पोटका कारण तीनतले भवन पूर्णतया क्षतिग्रस्त भएको छ । राजस्थानका मुख्यमन्त्री बसुन्धरा राजेले विस्पोटमा घाइते भई अस्पतालमा उपचाररत सवै विरामीलाई शनिबार साँझ नै भेट्नुभएको थियो । उहाँले मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख बराबरको क्षतिपूर्तिको घोषणा गर्नुभएको छ । भारतमा खाना पकाउने ग्यास प्रयोगमा आवश्यक सुरक्षा नअपनाइदा पटक पटक यस्ता विष्पोटका घटना हुनेगरेका छन् । यद्यपि विस्पोटका कारण ठूलो सङ्ख्यामा नागरिकले ज्यान गुमाएका घटना भने कम सुनिने गरेको छ । (रासस/एएफ्पी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?